Sagun Khabar
मंगलबारको भूकम्पछि सुदूरपश्चिममा ५ सय बढी पराकम्प, भूकम्पको जोखिम कायमै 

बैतडी –मंगलबार राति डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा ५ सय बढी पराकम्प गइसकेका छन् । आइतबार बिहान सम्म ५ सय ३१ ओटा पराकम्प गईसकेका भूकम्प मापन केन्द्र सुर्खेका प्राविधिक सहायक राजेश शर्माले बताए । 

डोटी भूकम्पछि शनिबार राति ५ दशमलव ४रेक्टर स्केलको पराकम्प गएको छ । बझाङको पाटादेवल केन्द्र बिन्दु बनाएर शनिबार राति ८ बजेर १२ मिनेटमा सो भूकम्प गएको हो । 

मंगलबार डोटीको गएको भूकम्प मध्यमस्तरको भएकाले पश्चिमी क्षेत्रमा अझै ठूलो भूकम्प जान सक्ने सम्भावना रहेको प्राविधिक सहायक शर्माले बताए । भूकम्पको कहिले जान्छ भन्ने पूर्वानुमान भने गर्न नसकिने शर्माले बताए । 

तर पश्चिममी क्षेत्रमा सन् १५०५ पछि ठूलो भूकम्प नगएकाले पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको जोखिम रहेको शर्माले बताए । पश्चिमी क्षेत्रमा ५१७ बर्षदेखि ठूलो भूकम्प नगएकाले शक्ति सञ्चित रहेको शर्माले बताए । पश्चिमी क्षेत्रमा सन् १५०५ मा मुस्ताङ केन्द्रबिन्दु बनाएर ८ दशमलव २ देखि ८दशमलव ८ रेक्टर स्केल सम्मको भूकम्प गएको थियो । 

नेपालको पूर्वी क्षेत्रमा सन् १९१४ मा भूकम्प गएको थियो भने मध्य क्षेत्रमा २०७२ को भूकम्पलाई लिन सकिने प्राविधिक सहायक शर्माले बताए । पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले भूकम्पीय जोखिम रहेको शर्माले बताए । 

भूकम्प जुनसुकै बेला पनि जान सक्ने भएकाले यसबाट बच्नका लागि सुरक्षित घरमा बस्नुपर्नेमा उनले जोड दिए । पुराना तथा जीर्ण भएका घरहरु सानोतिनो भूकम्पले समेत क्षति हुने भएकाले सुरक्षित घरमा मात्रै बस्न आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update