Sagun Khabar
बैतडीः निर्वाचनको तयारी तीव्र

बैतडी-बैतडीमा पनि निर्वाचनका लागि तयारी तीव्र पारिएकोछ । आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि अहिले जिल्लामा तयारी तीव्र पारिएको हो । बैतडीमा  मतपत्रलगायत निर्वाचन सामग्री दिएर मतदान अधिकृत, सहायक मतदान अधिकृतहरुलाई मतदान केन्द्रमा खटाउने काम भइरहेको सहायक निर्वाचन अधिकृत तिर्थ राज अचार्यले जानकारी दिए ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत संगसंगै कर्मचारी खटाउने काम पनि भइरहेको उनले बताए । बैतडीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरी १ हजार ६८४ जनशक्ति परिचालन गरिदै छन् ।

मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई तालिम दिएर  खटाउने  काम भइरहेको जिल्ला निर्वाचन अधिकारी माधव प्रशाद फुयाँलले बताए । २६ गते देखि  सुरु भएको  तालिम आज सम्पन्न हुने पनि उनले  बताए । २६ र २७ गते तालिम दिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई  आज  निर्वाचन सामग्री दिएर  पठाइएको र आज तालिम लिइरहेकाहरुलाई  भोलि पठाइने निर्वाचन अधिकारी फुयाँलले  बताए ।

 जिल्लामा २१० मतदान केन्द्र रहेका छन् भने जिल्ला कारागारमा एक अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएको छ । जिल्लामा १३ सय ७३ जना अस्थायी मतदाता छन् । कैदीबन्दी र अस्थायी मतदाताका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र राखिएको छ । बैतडीमा १ लाख ५० हजार १५६ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update