Sagun Khabar
बैतडीमा निमोनियाका बिरामी बढे 

बैतडी- बैतडीमा निमोनियाका बिरामी बढेका छन् । चिसो बढेसंगै अहिले जिल्लामा निमोनियका बिरामी बढिरहेका हुन् ।  निमोनियाले पाँच वर्ष मुनिका बालबालिका र वृद्धवृद्धाहरु बढि प्रभावित भएका जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश प्रशाद  पन्तले जानकारी दिए ।

अस्पतालमा उपचारका लागि आएका  बालबालिका र वृद्धवृद्धाहरुमा निमोनिया देखिने  गरेको  उनले  बताए  ।  २ महिना देखि पाँच वर्ष  मुनिका  र  वृद्धवृद्धामा निमोनिया देखिएको उनको  भनाइ  छ । यस्तै जिल्ला अस्पतालमा ७÷८ जना निमोनियका बिरामी  भर्ना भएका सूचना अधिकारी पन्तले  बताए ।

चिसो बढेकाले  निमोनिया पनि बढि रहेको स्वास्थ्यकर्माीहरुको  भनाई छ । अहिले  जिल्ला अस्पतालमा ८ जना निमोनियका बिरामीको  उपचार भइरहेको  छ  । जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा पनि निमोनियाका बिरामी उपचारका लागि  आउने गरेका सम्बन्धित स्वास्थ्य संस्थाहरुले जनाएका छन्। 

निमोनिया देखिएका  बालबालिका र वृद्धवृद्धाहरुलाई  अस्पतालमा भर्ना  गरेर  उपचार  भइरहेको  अस्पताल स्रोतले बताएको  छ । निमोनिया फोक्सोमा हुने संक्रमण भएकाले यसबाट बच्न स्वास्थ्यको ख्याल राख्न आवश्यक रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । 

निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने लगायतका लक्षण देखिने  गरेको  स्वास्थ्य  प्रमुख योगेश प्रशाद भट्टले बताए । निमोनिया  जाडो याममा बढि हुने गरेको उनले  बताए । न्यानो  भएर  बसे,  चिल्लो पिरो, चिसो कम खाएमा, निमोनिया नलाग्ने र  यो  भइहालेमा समयमै स्वास्थ्य संस्थामा गएर उपचार गराउन स्वाथ्य प्रमुख भट्टले  सुझाव दिएका छन् । 

कडा खालको  निमोनियाले ज्यान समेत जाने  गरेकाले  जाडो मौसममा स्वास्थ्यको  विशेष ख्याल राख्नु पर्नेमा स्वास्थ्यकर्मीहरुले  जोड दिएका छन् ।   

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update