बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले वडा नं ४ आमचौरा स्थित प्रसिद्ध कैलपाल धुरामा लाग्ने मेलाका लागि आज सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिकाले सोमबार एक सूचना जारी गरेर आमचौरा स्थित प्रसिद्ध कैलपाल धुरामा लाग्ने मेलाका लागि कार्तिक २९ गते सार्वजनिक बिदा दिएको जनाएको छ । आज २९ गते गाउँपालिका भित्रका सरकारी तथा गैर सरकारी संघ संस्था, शिक्षण संस्थामा बिदा दिइएको पञ्चेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मनोज जोशीले बताए ।
आमचौरा स्थित प्रसिद्ध कैलपाल धुरामा भव्य जात्रा लाग्ने गरेको स्थानीयहरुले बताए । सोमबार राती रतेडी मेला लागेको र आज दिउसेडी मेला लाग्ने बताइएको छ । प्रसिद्ध कैलपाल धुरामा टाढा टाढाका नागरिकहरु पनि मेला भर्न आउने गरेका स्थानीय नरेश तिवारीले बताए ।




