बैतडी- बैतडीका पूर्व सांसद किशनलाल लेखककी धर्म पत्नीको निधन भएको छ । वि सं. २०१८ मा बैतडी सदरमुकाममा खानेपानी पु¥याउनु हुने पूर्व सांसद किशनलाल लेखककी धर्म पत्नी तारा लेखकको हिजो ७६ वर्षको उमेरमा निधन भएको हो ।
उनको दशरथ चन्द नगरपालिका–५, मल्लीआईत आफनै निवासमा निधन भएको हो । २०१२ सालमा नेपाली काँग्रेसका नेता बीपी कोराईरालासँगै सङ्गठन निर्माणमा लाग्नु भएका किशनलाल लेखक २०१५ सालमा नेपाली काँग्रेसबाट निर्वाचित सांसद हुनुहुन्थ्यो । बीपी कोइराला बैतडी आउँदा किशनलाल लेखकलाई नै खोज्नुहुन्थ्यो ।
पछि राजा महेन्द्र आउँदा पनि किशनलालकै खोजी हुन्थ्यो । २०२२ साल असोज ९ गते किशनलालको टिबी रोग लागेर काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको थियो । २०१५ सालमा नवनिर्वाचित सरकार अपदस्थ गरेर तत्कालीन राजा महेन्द्रले २०१७ सालमा कु गरेपछि किशनलालले नवनिर्वाचित सांसद्को पद गुमाउनुपरेको थियो ।२०१८ सालमा राजा महेन्द्र बैतडी भ्रमणमा आउँदा नवनिर्वाचित सरकार अपदस्थ गरेपछि जनताले चाहेको विकास अवरुद्ध भएको कुरा किशनलालले भाषण गर्नुभएको थियो ।
किशनलालको पहलमा राजा महेन्द्रले बैतडी सदरमुकाममा खानेपानी, बैङ्क, हाईस्कुल र चमेलिया नदीमा पुल हाल्ने प्रतिबद्धता गरे अनुसार सोही वर्ष बैतडीवासीको माग पूरा भएको बैतडीका पुराना समाजसेवी नेता पुष्पराज लेखकले बताउनुभयो । किशनलालको समाज सेवाप्रतिको मोह देखेर राजा महेन्द्रले २०२१ सालमा लेखकलाई राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत गर्नुभएको थियो ।
किशनलाल लेखकको देहान्तपछि उहाँका धर्मपत्नीले भएको जग्गा बैतडी आँखा अस्पताललाई दान गर्नुभएको छ तर, अस्पताल निर्माणको काम पूरा नहुँदै तारा लेखकको पनि देहावसान भएको छ । नेपाली काँग्रेसको झण्डा ओढाएर उनको आज महाकाली नदीमा दाहसंस्कार गरिएको छ । तारा लेखकको निधनपछि बैतडीको मल्लीआईत शोकमा डुबेको छ ।




