Sagun Khabar
बैतडीमा निर्वाचनको तयारी अन्तिम चरणमा, मतदान स्थलमा खटिए कर्मचारी

बैतडी-बैतडीमा निर्वाचनको तयारी  अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार आइतबार ४ गते हुने  प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको हो ।

   जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्री सहित १ हजार ६८४ कर्मचारीहरु परिचालन गरिएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरी १ हजार ६८४ जनशक्ति परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए ।

जिल्लामा २ सय १० मतदान अधिकृत, २ सय १० सहायक मतदान अधिकृत, कार्यालय सहयोगी र कर्मचारी निर्वाचन सामग्री सहित कार्य तालिका अनुसार मतदान केन्द्रमा खटाइएको उनले बताए । तालिम लिएकका  मतदान अधिकृत निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुगि सकेका छन् ।  कार्तिक २६ गते देखि मतदान अधिकृत र  सहायक मतदान अधिकृतहरुलाई  तालिम दिइएको  थियो ।

मतदान केन्द्र पुगेर कर्मचारीहरुले  निर्वाचन कार्यतालिका अनुसार मतदान केन्द्रको भौतिक पुर्वधार तयार लगायतका काम गर्ने बताइएको छ । बैतडीमा  मतदान केन्द्रमा रहेका मतदाता संख्याको आधारमा  जनशक्ति खटाइएको छ ।

जिल्लामा २१० मतदान केन्द्र रहेका छन् भने जिल्ला कारागारमा एक अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएको छ । पाँच सयसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी, तीन जना स्वयंसेवक र १ जना कार्यालय सहयोगी खटिएका छन्  ।

एक हजारसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, पाँच जना सहायक कर्मचारी, चार जना स्वयंसेवक र एक जना कार्यालय सहयोगी खटिएका जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए । 

जिल्ला कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी खटिएका छन् । बैतडीमा १ लाख ५० हजार १५६ जना मतदाता रहेका छन् ।

बैतडीमा ३ सिटका लागि २२ जना चुनावी मैदानमा छन् । संघका लागि एक मात्र निर्वाचन क्षेत्र भएको बैतडीमा ३ जना स्वतन्त्र सहित ११ जना छन । यस्तै प्रदेश सभा क मा एक स्वतन्त्र सहित ६ जना र प्रदेश सभा ख मा ५ जना उम्मेदवार छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update