बैतडी- अहिले निर्वाचन प्रचारप्रसार लगायतका गतिविधि बन्द रहेको छ । बिहीवार राती १२ बजेदेखि मौन अवधि लागू भएसँगै बैतडी जिल्लामा पनि चुनावी प्रचारप्रसारको चहलपहल बन्द भएको हो ।
राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी चुनावसँग सम्बन्धित काम अहिले बन्द छन् । भोलि हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीवार राती १२ बजेदेखि मौन अवधि लागू भएपछि लामो समय निर्वाचनका लागि चहलपहल भएका गाउँ तथा सहर सुनसान बनेका छन् ।
मौन अवधि लागु भएपछि उम्मेदवारहरु गाउँघरमा नदेखिएका स्थानीय प्रविन धामीले बताए । दलका नेता, कार्यकर्ता गाउँघर नदेखिएका उनले बताए । डिजेमा चुनावी गीत बजाएर चुनावी प्रचार गर्ने उम्मेदवारहरुले मौन अवधि सुरु भएपछि अहिले प्रचारप्रसार रोकेका उनले बताए । अहिले चुनावी प्रचारका कार्यक्रम बन्द छन् भने मतदाताहरु मतदानको व्यग्र प्रतिक्षामा रहेका छन् ।
आफुहरु मतदानका लागि आतुर भएका यहाँका स्थानीयहरुको भनाई छ । निर्वाचनलाई उत्सवका रुपमा मनाए मताधिकार प्रयोग गर्न सबै जना तयार रहेका स्थानीय प्रकाश भट्टले बताए । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ ।
मतदान भोलि ७ बजेदेखि साँझ ५ बजेसम्म हुने बैतडीका सहायक निर्वाचन अधिकारी तिर्थ राज अर्चायले बताए । मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका विषयमा आचारसंहितामा उल्लेख गरिएको र कसैले उल्लंघन गरे कारबाहीमा पर्ने उनले बताए छ ।
कसैले आचारसंहिता विपरितका कार्य गरेको पाइएमा कानून बमोजिम कारबाही गर्न सुरक्षा निकाय परिचालन गरिएको छ ।




