Sagun Khabar
मतदान शुरु, मतदान केन्द्रमा मतदाताको संख्या बढ्दै 

बैतडी –प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मतदान सुरु भएको छ । बैतडी सहित देशका ७७ वटै जिल्लामा बिहान ७ देखि मतदान सुरु भएको हो । आज बेलुका  ५ बजेसम्म भोट हाल्न पाइने छ  । मतदान केन्द्रमा भोट हाल्नका लागि  मतदाता पुगेका छन् । मतदाताको सङ्ख्या बिस्तारै बढ्दै छ ।

ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी भोट हाल्न लाइन बस्नु पर्दैन ।  अपाङ्गता भएकाहरूका लागि पनि विशेष व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदानलाई व्यवस्थित गर्न महिला र पुरुषको छुट्टा छुट्टै लाइनको व्यवस्था गरिएको छ । 

भोट हाल्न जाँदा आफ्नो मतदाता परिचयपत्र लिएर जानु पर्छ । मतदाता परिचय पत्र नभएमा निर्वाचन आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र लाइसेन्स वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्रको आधारमा पनि  मतदान गर्न पाइने जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए । 

देशभर १० हजार ८ सय ९२ मतदान स्थल र २२ हजार २ सय २७ मतदान केन्द्र रहेका छन् । चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । प्रदेश १ मा ३३ लाख ९६ हजार ८ सय ६५, मधेसमा ३३ लाख ८६ हजार ६ सय २८, बाग्मतीमा ३४ लाख ७१ हजार ४ सय ९२, गण्डकीमा १८ लाख १७ हजार ५ सय ४१, लुम्बिनीमा ३२ लाख ४९ हजार ६ सय ३७, कर्णालीमा १० लाख ८ हजार ४ सय ३ र सुदूरपश्चिममा १६ लाख ५८ हजार ४ मतदाता छन् । 

निर्वाचन  आयोगका  अनुसार  प्रतिनिधि   सभा  सदस्यको लागि प्रत्यक्षतर्फ २ हजार ४१२ जना र समानुपातिकतर्फ  २  हजार  १९९  उम्मेदवार छन् । यस्तै, प्रदेश सभाका लागि प्रत्यक्षतर्फ ३ हजार २२४ र  समानुपातिकतर्फ  ३  हजार  ७०८  जना  उम्मेदवार रहेका छन् ।  
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update