Sagun Khabar
बैतडीमा मतपेटिका ढुवानी कार्य शुरु, भोलिदेखि मतगणना हुने 

बैतडी –मतदान सम्पन्न भएसंगै बैतडीका मतदान केन्द्रबाट मतपेटिका ढुवानी कार्य शुरु भएको छ । जिल्लाका २ सय १० ओटै मतदान केन्द्रमा शान्तपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 

मतदान सम्पन्न भएपछि मतदान केन्द्रबाट मतपेटिका ढुवानी कार्य शुरु भएको उनले बताए । नजिकका मतदान केन्द्रबाट आज राति नै जिल्ला सदरमुकाममा मतपेटिका पुर्याइनेछ भने टाढाका मतदान केन्द्रबाट भोलि सम्म मतपेटिका ढुवानी भइसक्ने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । 

मतपेटिका जिल्ला सदरमुकाम पुर्याइसकेपछि सर्वदलीय बैठकको आयोजना गर्ने र त्यसपछि मतगणना कार्य शुरु हुने बताइएको छ । जिल्ला अस्पतालको नवनिर्मित भवनमा मतगणना कार्य सञ्चालन गरिने सहायक निर्वाचन अधिकृत तीर्थराज आचार्यले बताए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update