Sagun Khabar
बैतडीमा जिप दुर्घटना : ३ जनाको शव निकालियो, ६ जना घाइते  (अपडेट)

बैतडी –बैतडीमा प्रहरी बोकेको जिप सोमबार बिहान दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर जिपमा सवार रहेका मध्ये घटनास्थलमै मृत्यु भएका ३ जनाको शव निकालिएको छ । एकजनाको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको बताइएको छ ।  मृतकको सनाखत हुन बाँकी रहेको छ ।  

जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइतेहरुको भने पहिचान भएको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । 
जिप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update