Sagun Khabar
बैतडी प्रदेश सभा (ख) मा कांग्रेसका शिवराज भट्ट विजयी 

बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नम्बर (ख) मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भएका छन् । एमाले उम्मेदवार लिलाधर भट्टलाई पराजित गर्दै उनी प्रदेश सभा सदस्यमा विजयी भएका हुन् । 

विजयी भट्टले १७ हजार १५३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका लिलाधर भट्टले १६ हजार ११६ मत प्राप्त गरे । एमालेका उम्मेदवार भट्ट कांग्रेसका उम्मेदवारसंग ४३७ मतान्तरले पराजित भएका हुन् । 

यो क्षेत्रमा ३७ हजार २८० मत खसेको थियो । प्रदेश सभा सदस्यमा निर्वाचित भट्ट नेपाली कांग्रेसभित्र सादगी नेताको रुपमा परिचित रहेका छन् । 

राजनीति शास्त्रमा स्नातोकोत्तर गरेका भट्टले कानुन बिषयमा स्नातक गरेका छन् । २०१३ साल कार्तिक २३ गते बैतडीको देहीमाण्डौंमा जन्मेका भट्टले २०२७ सालदेखि राजनीतिमा प्रवे गरेका हुन् । 

नेपाल विद्यार्थी संघको राजनीतिबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका भट्टले २०३६ सालको पञ्चायत विरुद्धको आन्दोलनमा पनि सक्रिय सहभागिता जनाएका थिए । २०४६ सालको आन्दोलनमा समेत भट्टले सहभागिता जनाएका थिए । 

नेपाली कांग्रेसको संगठन विस्तारमा अहोरात्र खटिएका भट्ट नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नजिक रहेका नेताको रुपमा चिनिन्छन् । भट्ट २०५७ सालमा नेपाली कांग्रेस बैतडीको सभापति समेत बने । 

२०६४ सालको संविधान सभाको निर्वाचनमा भने पार्टीले टिकट नदिएपछि उनी बागी उम्मेदवार बनेका थिए । पछि उनी कांग्रेसकै संगठनमा आवद्ध भए । २०७८ सालमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेस बैतडीको सभापतिमा पराजित भएका भट्ट अहिले प्रदेश सभा सदस्यको रुपमा निर्वाचित भएका हुन् । 

जनताको भावना अनुसार आफूले काम गर्ने भट्टले बताएका छन् । जनताले दिएको अमूल्य मतको कदर गर्ने गरी आफूले काम गर्ने उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update