बैतडी –बैतडीमा प्रदेश सभा (क)को अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसले जित निकाल्ने रणनीति बनाएको भएपनि कांग्रेस तेश्रो स्थानमा खुम्चिएको छ । २०६४ सालदेखि लगातार यो क्षेत्र गुमाइरहेको कांग्रेसले यो निर्वाचनमा पनि पुनरागमन गर्न सकेन ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा २०७९ मा कांग्रेसका लागि यो क्षेत्रमा कांग्रेसबाटै ‘बागी’बनेका हरिमोहन भण्डारी भारी बने । उनले कांग्रेसका आधिकारिक उम्मेदवार बिरबहादुर बिष्ट भन्दा बढी ल्याएर दोश्रो स्थानमा रहे । यो क्षेत्रमा नेपाली कांग्रेस तेश्रो स्थानमा रहेको छ ।
स्वतन्त्र उम्मेदवार र कांग्रेसका उम्मेदवारले ल्याएको मत विजयी एमालेका सुरेन्द्र पालको भन्दा झण्डै दोब्बर रहेको छ । विजयी पालले १२ हजार ८३१ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ११ हजार १८ मत प्राप्त गरे । नेपाली कांग्रेसका बिरबहादुर बिष्टले १० हजार ९५३ मत प्राप्त गरे ।
टिकट वितरणका बेला भएको असन्तुष्टी मेटाउन नसक्दा नेपाली कांग्रेसले यो क्षेत्र गुमाउनु परेको कांग्रेसकै नेताहरुको भनाइ छ । भण्डारीको पक्षमा खुलेरै कांग्रेसका नेता कार्यकर्ता लागेपछि यो क्षेत्रमा कांग्रेस तेश्रो स्थानमा खुम्चिएको हो । कांग्रेसभित्रैकै चरम असन्तुष्टीले यो क्षेत्रमा लगातार कांग्रेस कमजोर बन्दै गएको कतिपय कांग्रेसकै नेता कार्यकर्ताहरुको भनाइ रहेको छ ।
यो क्षेत्रका पुराना नेताको रुपमा रहेका केशवबहादुर चन्द पनि पार्टी निर्णयलाई लत्याएर प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बने । यसले गर्दा समेत प्रदेश सभा क्षेत्र नं(क) मा कांग्रेस कमजोर स्थितीमा पुगेको धेरैले बिश्लेषण गरेका छन् ।




