बैतडी –बैतडीमा तीन जना उम्मेदवारले स्थानीय तहको निर्वाचन र संसदीय निर्वाचनमा लगातार पराजय व्यहोरेका छन् । नेकपा एकीकृत समाजवादीका नेता नरेन्द्र बिष्ट, राप्रपाका देवबहादुर चन्द र राप्रपा नेपालका प्रेमबहादुर चन्दले ६ महिनाको अवधिमा दुई चुनावमा पराजय व्यहोरेका हुन् ।
एकीकृत समाजवादीका नेता बिष्टले गएको वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सुर्नया गाउँपालिकाको अध्यक्ष पदमा पराजय व्यहोरेका थिए । त्यो बेला उनले २ हजार ३२४ मत प्राप्त गरेका थिए । भर्खरै सम्पन्न भएको संसदीय निर्वाचनमा प्रदेश सभा (क) मा उम्मेदवारी दिएका बिष्टले २ हजार १९४ मत मात्रै ल्याउन सफल भए । उनले यो चुनावमा स्थानीय तहको भन्दा कम मत ल्याएका छन् ।
यस्तै राप्रपा नेपालका प्रेमबहादुर चन्द गएको स्थानीय तहको निर्वाचनमा पाटन नगरपालिकामा राप्रपाबाट नगर प्रमुख पदका उम्मेदवार रहेका थिए । त्यो चुनावमा उनले १७६ मत प्राप्त गरेका थिए । अहिलेको निर्वाचनमा राप्रपा नेपालमा आवद्ध भएका चन्द बैतडी प्रदेश सभा (ख) मा प्रदेश सभा सदस्यको उम्मेदवार हुन् । उनले अहिले पनि २२० मत मात्रै प्राप्त गरेका छन् ।
यस्तै राप्रपा देवबहादुर चन्दले पनि ६ महिनाको अवधिमा दुई चुनावमा हार व्यहोरेका छन् । उनले गएको स्थानीय तहको निर्वाचनमा सुर्नया गाउँपालिकाको उपाध्यक्ष पदमा हार व्यहोरेका थिए । अहिले चुनावमा राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका चन्द पराजित भएका हुन् । गएको स्थानीय तह निर्वाचनमा १९४१ मत पाएका चन्दले यो निर्वाचनमा कम मत अर्थात १७५९ मत मात्रै पाएका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता नरेन्द्र बिष्टलाई बौद्धिक नेताको रुपमा लिने गरिएको भएपनि निर्वाचनमा भने उनी लगातार पराजित हुँदै आएका छन् । २०७४ सालको निर्वाचनमा उनी एमालेबाट सुर्नया गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार रहेका थिए । त्यो बेला पनि उनी थोरै मतान्तरले पराजित भएका थिए । एमाले बैतडीका अध्यक्ष समेत रही सकेका बिष्ट अहिले एकीकृत समाजवादीमा लागेका छन् । पार्टी फुटकै कारण उनले पराजय व्यहोरेको हुन सक्ने धेरैले आँकलन समेत गरेका छन् ।
राप्रपा नेपालमा आवद्ध चन्द पहिलादेखि नै राप्रपा नेपालमा आवद्ध रहेका थिए । पछिल्लो समयमा राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि उनी राप्रपामा सामेल भएका थिए । तर कमल थापाले आफ्नो नेतृत्वमा राप्रपा नेपाल गठन गरेपछि उनी राप्रपा नेपालमै आवद्ध भएका छन् । उनले पनि ६ महिनाको अवधिमा दुईओटा निर्वाचनमा पराजय व्यहोरिसकेका छन् ।




