बैतडी –सुदूरपश्चिमबाट प्रतिनिधि सभामा माओवादी शून्य हुने भएको छ । ठूलो दल मानिएको माओवादी केन्द्रको सुदूरपश्चिममा एक सीट पनि नआउने पक्का भएको छ ।
सुदूरपश्चिमका १६ सिटमध्ये सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा माओवादी केन्द्रले चार स्थानमा भाग पाएको थियो । बैतडी, कैललाीको क्षेत्र नम्बर २ र ३ तथा कञ्चनपुरको क्षेत्र नम्बर एक माओवादीको भागमा परेको थियो । तर उसले एक ठाउँमा पनि जित निकाल्न सकेको छैन् ।
बैतडीमा नेकपा एमालेका दामोदर भण्डारीले तेश्रो पटक जित निकालेर ह्याट्रिक गरेका छन् भने माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) पराजित हुन पुगेका छन् । नेपाली कांग्रेस र एकीकृत समाजवादीको समेत साथ पाएका कुँवर पराजित भएका हुन् ।
कैलाली–३ मा पनि नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् भने माओवादी केन्द्रका उम्मेदवार पराजित भएका छन् ।
यता कञ्चनपुर १ मा माओवादी नेतृ बिना मगरलाई एमालेका तारामा लामा तमाङले ४ हजार बढी मतान्तरले पराजित गरेका छन् ।
कैलाली २ मा पनि नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी विजयी भएका छन् । त्यहाँ माओवादीका उम्मेदवार भगत बडुवाल पराजित भएका छन् ।
२०७४ सालको निर्वाचनमा एमाले र माओवादीको बाम गठबन्धन भएको थियो । त्यो बेला माओवादी केन्द्रले सुदूरपश्चिमबाट प्रतिनिधि सभामा तीन ठाउँमा जित हासिल गरेको थियो ।




