Sagun Khabar
सुदूरपश्चिममा प्रतिनिधि र प्रदेश सभामा कांग्रेस पहिलो दल 

बैतडी – मंसिर ४ गते सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र प्रदेशसभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ । प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा जिल्लाको नतिजा आउन बाँकी रहेको छ । मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुराको एक केन्द्रमा शनिबार मतदान सम्पन्न भएको छ । अन्य ठाउँको मतगणना हुन सकेको छैन् । निर्वाचन आयोगको टोली बाजुरामा रहेको छ । 

बाजुरा बाहेकका मत परिणाम अनुसार सुदूरपश्चिमबाट प्रतिनिधि र प्रदेश सभामा नेपाली कांग्रेस पहिलो दल बनेको छ । 

नेपाली कांग्रेसबाट डडेलधुरामा प्रधानमन्त्री देउवा, कञ्चनपुर ३ बाट रमेश लेखक, कञ्चनपुर २ बाट एनपी साउँद, कैलाली ४ बाट वीरबहादुर बलायर, कैलाली ५ बाट डिल्लीराज पन्त, दार्चुलाबाट उद्योगमन्त्रीसमेत रहेका बडू र अछाम २ बाट पुष्पबहादुर शाहसहित सात जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी)बाट अछाम १ मा श्रममन्त्रीसमेत रहेका कुँवर, बझाङमा भानुभक्त जोशी र डोटीबाट प्रेमबहादुर आलेमगर सहित ३ जना निर्वाचित भएका छन् । 

नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ मा रञ्जिता श्रेष्ठ चौधरी, क्षेत्र २ मा अरुण चौधरी र क्षेत्र ३ मा गङ्गाराम चौधरी प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पछिल्लो समयमा उदय भएको नागरिक उन्मुक्ति कैलालीमा पहिलो दल बनेको छ । 

सुदूरपश्चिमबाट नेकपा एमालेका दुई जना निर्वाचित भएका छन् । नेकपा एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारी बैतडीबाट र तारालामा तामाङ कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा सुदूरपश्चिमबाट नेकपा माओवादी केन्द्र शून्य भएको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update