बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ५ मा सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागि पहल सुरु भएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कीरहेको भन्ने व्यापक जनगुनासो आइरहेका बेला वडा कार्यालयले सामुदायिक विद्यालयको गुणस्तर सुधार ध्यान दिन थालेको हो ।
शनिबार मात्रै वडाभित्र रहेका सबै विद्यालयका प्रधानाध्यापकहरुसंग बसेर गरेर शैक्षिक गुणस्तरका सुधारका लागि छलफल भएको वडा अध्यक्ष यज्ञराज भट्टले बताए । सामुदायिक विद्यालयहरुलाई विद्यार्थीको आकर्षणको केन्द्र बनाउने उद्देश्य सहित वडाले पहल थालेको उनले बताए । निजी बोर्डिङ स्कुलमा मात्रै गुणस्तरीय पठनपाठन हुन्छ भन्ने कुरालाई चिर्दै सामुदायिक विद्यालयमा पनि राम्रो पठनपाठन हुन्छ भन्ने सन्देश दिनका लागि आफूहरुले पहल थालेको उनले बताए । उनले भने ‘हामीले सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर राम्रो हुन्छ भन्ने उदाहरण दिन सक्ने वातावरण बनाउँदैछौं । त्यसका लागि छलफल सुरु गरिसकेका छौं ।’
वडाभित्र रहेका विद्यालयहरुलाई नमूना विद्यालय बनाउने आफूहरुको योजना रहेको वडा अध्यक्ष भट्टले बताए । प्रधानाध्यापकहरुसंगको छलफलपछि अब विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरुसंग छलफल गरिने वडा अध्यक्ष भट्टले बताए । डिलाशैनी गाउँपालिका वडा नं ५ भित्र ८ ओटा सामुदायिक विद्यालय रहेका छन् ।




