बैतडी –नेकपा एमालेले बैतडीको डिलाशैनीमा आइतबार धन्यवाद सभा सम्पन्न गरेको छ । पार्टीका सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारी प्रतिनिधि सभा र जिल्ला अध्यक्ष सुरेन्द्र पाल प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि धन्यवाद सभाको आयोजना गरिएको हो ।
जिल्लाका १० ओटै स्थानीय तहमा धन्यवाद सभा आयोजना गर्ने निर्णय अनुसार आइतबार डिलाशैनीमा धन्यवाद सभाको आयोजना गरिएको एमाले बैतडीले जनाएको छ । यसअघि शुक्रबार गोठलापानीमा धन्यवाद सभाको आयोजना गरेको एमालेले शनिबार दोगडाकेदारमा कार्यक्रम गरेको थियो ।
धन्यवाद सभामा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी र प्रदेश सभा सदस्य सुरेन्द्र पालको सहभागिता रहेको थियो । उनीहरुले धन्यवाद सभामार्फत मतदाताहरुलाई धन्यवाद दिएका छन् ।
मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा भण्डारी गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)लाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । पाल भने स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।




