Sagun Khabar
मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुग्दै बैतडीका जनप्रतिनिधि

 बैतडी –मंसिर ४ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित भएका बैतडीका जनप्रतिनिधिहरु मतदाताहरुलाई धन्यवाद दिनका लागि गाउँगाउँ पुग्न थालेका छन् । मंसिर ४ को निर्वाचनबाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरु गाउँ गाउँ पुग्न थालेका हुन् । 

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रत्येक पालिकामा धन्यवाद सभाको आयोजना गर्ने कार्यक्रम राखेको र सोही अनुसार सबै पालिकामा कार्यक्रम भइरहेको एमाले बैतडीका सचिव चक्रबहादुर कार्कीले बताए । सबै पालिकामा पुगेर मतदाताहरुलाई धन्यवाद दिने र उनीहरुका समस्या सुन्ने गरेको उनले बताए । 

प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी र प्रदेश सभा सदस्य सुरेन्द्र पालको उपस्थितीमा धन्यवाद सभाको आयोजना गर्ने गरिएको कार्कीले बताए । 

प्रतिनिधि सभामा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् भने प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई पराजित गर्दै पाल विजयी भएका हुन् । 

यस्तै नेपाली कांग्रेसबाट प्रदेश सभा –२ मा निर्वाचित प्रदेश सभा सदस्य शिवराज भट्टको उपस्थितीमा मतदाताहरुलाई धन्यवाद दिने कार्यक्रम भइरहेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए । आइतबार पञ्चेश्वरबाट मतदाताहरुलाई धन्यवाद दिने कार्यक्रम शुरु भएको र क्षेत्र नं २ का सबै पालिकामा कार्यक्रमको आयोजना गर्ने तयारी भएको उनले बताए । 

निर्वाचित भएपछि आफ्नो क्षेत्रका मतदाताहरुको पीर मार्का बुझ्न र मतदाताहरुलाई धन्यवाद दिन प्रत्येक पालिकामा धन्यवाद कार्यक्रमको आयोजना गरिरहेको प्रदेश सभा सदस्य शिवराज भट्टले बताए । 

प्रदेश सभा क्षेत्र नं.२ मा उनी नेकपा एमालेका लिलाधर भट्टलाई पराजित गर्दै निर्वाचित भएका हुन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update