बैतडी –नेपाली कांग्रेस बैतडीले चुनावी समीक्षा गर्न थालेको छ । प्रत्येक पालिकामा पुगेर चुनावी समीक्षा गर्ने कार्यक्रम तय भएको कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले बताए ।
प्रत्येक पालिकामा पुगेर पार्टीका पदाधिकारी, पार्टीका क्रियाशील सदस्य, शुभेच्छुक सबैसंग बसेर प्रशिक्षणात्मक छलफल गर्ने कार्यक्रम रहेको उनले बताए । बलियो कांग्रेस बनाउनका लागि पार्टीले अभियान थाल्ने निर्णय गरिसकेकाले आफूहरु प्रत्येक पालिकामा पुग्ने उपसभापति बिष्टले बताए ।
शनिबार मात्रै बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले जिल्लाका १० ओटै स्थानीय तहमा पुगेर चुनावी समीक्षा गर्ने निर्णय गरेको थियो । चुनावका समयमा पार्टीलाई असहयोग गर्नेहरुलाई कारवाही समेत गर्ने तयारी कांग्रेसले गरेको छ । खुलेर पार्टीको विपक्षमा लागेकाहरुलाई कारवाही गरिसकिएको र अन्यहरु पनि त्यस्तो कार्यमा संलग्न रहेको पाइएमा कारवाही गरिने कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।
प्रदेश सभा क्षेत्र नं १ मा नेपाली कांग्रेसले पराजय व्यहोरेपछि कांग्रेस बैतडी चुनावी समीक्षामा जुटेको हो । कांग्रेसबाटै ‘बागी’उम्मेदवारी दिएका हरिमोहन भण्डारीले कांग्रेसका आधिकारि उम्मेदवार बिरबहादुर बिष्ट भन्दा बढी मत ल्याएका छन् ।
कांग्रेसमा आवद्ध भएकाहरुलाई पार्टी प्रशिक्षण दिने र नयाँ युवाहरुलाई कांग्रेससंग जोड्नका लागि अभियानको शुरुवात गरिएको कांग्रेस बैतडीले जनाएको छ । पार्टी भित्र रहेका असन्तुष्टीहरुलाई समेत मेटाउने गरेर बलियो कांग्रेस बनाउने अभियानमा आफूहरु जुटेको उपसभापति बिष्टले बताए ।
बैतडीमा यो निर्वाचनमा नेपाली कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीसंग गठबन्धन गरेको थियो । प्रतिनिधि सभा सदस्यको सीट गठबन्धनबाट माओवादी केन्द्रको भागमा परेको थियो । तर समानुपातिक तर्फ पनि प्रतिनिधि सभा र प्रदेश सभामा दुवै नेपाली कांग्रेसले एमालेको भन्दा कम मत ल्याएको छ ।
पार्टीको आन्तरिक शुद्धीकरण र सुदृढीकरण दुवै गर्ने तयारीका साथ आफूहरु अगाडि बढेको उपसभापति बिष्टले बताए । उनले भने ‘पार्टीभित्र रहेको अवसरवादीलाई हटाउने र प्रतिबद्ध कार्यकर्ताहरुलाई जोड्ने अभियान शुरु गरेका छौं । यसले बलियो कांग्रेस बनाउन सहयोग मिल्ने हाम्रो अपेक्षा रहेको छ ।’




