Sagun Khabar
दार्चुलामा बिष्ट हत्या प्रकरण : हत्या आरोपमा एकजना पक्राउ 

दार्चुला –दार्चुलाको व्याँस गाउँपालिका ४ डोकटका ४० बर्षीय नरसिंह बिष्टको हत्यामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । व्याँस गाउँपालिका ४ डोकटकै २५ बर्षीय दिपक बिष्टलाई पक्राउ गरी अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए । 

बिष्टलाई आइतबार पक्राउ गरेर अदालतबाट सात दिनको म्याद थपि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंसिर ३ गते राति दुवै जनाको दार्चुला तिंकर सडकमा भेट भएको र दुवैले मदिरा सेवन गरेकाले विवाद हुँदा हत्या गरेको प्रहरीले जनाएको छ । दुवै जनाबीच एकआपसमा विवाद हुँदा दिपक बिष्टले नरसिंह बिष्टको टाउँकोमा ढुंगाले हानेर हत्या गरेको प्रहरी निरीक्षक शाहीले बताए । हत्यापछि उनले बिष्टको शवलाई खोलामा लगेर ढुंगाले च्यापेको प्रहरीले उल्लेख गरेको छ । 

दार्चुला सदरमुकाम खलंगामा होटेल व्यवसाय गर्दै आएका नरसिंह चुनावको अघिल्लो दिन भोट दिन भनेर गाउँ गएका थिए । आफन्तहरुले उनको हत्या भएको हुन सक्ने भन्दै मंसिर १० गते सम्म शव बुझ्न मानेका थिएनन् । प्रहरीले अनुसन्धानमा सक्रियाता देखाएपछि आफन्तले मंसिर १० गते शव बुझेका थिए । नरसिंह बिष्ट हत्या घटनाको अनुसन्धानका लागि सिआइबीको टोली समेत आएको थियो । घटनाका बिषयमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक शाहीले बताए ।    
 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update