बैतडी–नेपाली कांग्रेसको देउवा समूहले दशरथचन्द नगरपालिकाका ११ ओटा वडामध्ये ६ ओटा वडा अधिवेशन सम्पन्न भएको जनाएको छ ।
अधिवेशन आयोजक समिति दशरथचन्दका संयोजक लालबहादुर चन्दका अनुसार ५ ओटा वडामा अधिवेशन गर्न बाँकी रहेको छ ।
अधिवेशन सम्पन्न भएका ६ ओटा वडामध्ये वडा नं १ मा लालबहादुर टेर सभापतित्वमा नयाँ वडा कार्यसमिति गठन गरिएको अधिवेशन आयोजक समितिका सदस्य नन्दराज भट्टले जानकारी दिए ।
यस्तै वडा नं २ मा दानसिंह भण्डारी, वडा नं ३ मा भुपेन्द्र पाण्डे, वडा नं ८ मा भीमसिंह थापा, वडा नं ९ मा हरिकृष्ण जोशी र वडा नं १० मा भवानसिंह बिष्ट सभापतिमा चयन भएका संयोजक चन्दले बताए ।
संस्थापन पक्षले यसअघि नै वडा समिति गठन गरिसकेका ठाउँमा देउवा समूहले समानान्तर समिति गठन गरिरहेको छ ।
जिल्लाका अधिकांश वडामा अधिवेशन सम्पन्न भइसकेको अधिवेशन आयोजक समितिका जिल्ला संयोजक एवं कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले बताए ।
नेपाली कांग्रेसको देउवा समूहले संस्थापन पक्षलाई काउन्टर दिँदै समानान्तर समिति बनाउन थालेपछि कांग्रेस स्पष्ट रुपमा दुई चिरामा विभक्त भएको छ ।
यस्तै पाटन नगरपालिकाका पाँच ओटा वडामा देउवा समूहले अधिवेशन सम्पन्न भएको जनाएको छ । वडा नं १० नारायणप्रसाद पन्त, वडा नं ८ मा शेरसिंह बिष्ट, वडा नं ७ मा राजेन्द्रप्रसाद भट्ट, वडा नं ४ मा कमलसिंह ऐरी र वडा नं २ मा प्रताप लुहार सभापतिमा चयन भएका अधिवेशन आयोजक समितिका सदस्य नरेश बिष्टले बताए ।
बाँकी रहेका पाँच ओटा वडामा आइतबार अधिवेशन गरिने बिष्टले जानकारी दिए ।




