Sagun Khabar
बैतडीमा भूमी आयोगले काम अघि बढाउने 

बैतडी –राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीले रोकिएको काम अघि बढाउने भएको छ । निर्वाचन आचारसंहिताका कारण तथ्यांक संकलनको काम रोकिएको र अब केही दिनभित्रै त्यो काम सुचारु हुने भूमी आयोग जिल्ला समितिका अध्यक्ष धर्मसिंह ऐरले बताए । 

बैतडीमा ८ ओटा पालिकाले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरेर तथ्यांक संकलनको काम गरिरहेका छन् । निर्वाचन आचारसंहिताका कारण रोकिएको तथ्यांक संकलनको काम पालिकाहरुले केही दिनभित्रै शुरु गर्ने उनले बताए । राष्ट्रिय भूमी आयोग केन्द्रिय समितिको बैठक बसेर काम अघि बढाउन निर्देशन दिए लगत्तै काम अघि बढ्ने बताइएको छ । 

बैतडीमा दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिका बाहेकका सबै स्थानीय तहहरुले भूमी आयोगसंग सम्झौता गरिसकेका छन् । यी दुई पालिकाहरुले पनि केही दिनभित्रै आयोगसंग सम्झौता गरेर काम अघि बढाउने अध्यक्ष ऐरले बताए । 

जिल्लामा भूमीहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरेर उनीहरुलाई लालपूर्जा वितरण गरिने आयोगले जनाएको छ । सम्झौता भएका पालिकामा झण्डै ८० प्रतिशत तथ्यांक संकलन भइसकेको भूमी आयोग जिल्ला समितिले जनाएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update