बैतडी –भर्खरै सम्पन्न भएको संसदीय निर्वाचनको समीक्षामा जुटेको नेपाली कांग्रेसले आज बैतडीको पाटनमा समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । कांग्रेस बैतडीका उपसभापति एवं प्रदेश सभा १ का उम्मेदवार बिरबहादुर बिष्टको उपस्थितीमा समीक्षा बैठक सम्पन्न भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।
समीक्षा कार्यक्रममा नेपाली कांग्रेसभित्रकै अन्तरघातका कारण पार्टीले चुनावमा पराजय व्यहोरेको निष्कर्ष निकालेको छ । कांग्रेसका आधिकारिक उम्मेदवार बिरबहादुर बिष्ट विरुद्ध कांग्रेसबाटै विद्रोह गरेर यो क्षेत्रमा हरिमोहन भण्डारीले उम्मेदवारी दिएका थिए । कांग्रेस भित्रकै केही व्यक्तिका कारण चुनावमा पराजय व्यहोरेको समीक्षा बैठकमा निष्कर्ष निकालिएको छ । बैठकपछि समाजिक सञ्जालमा उपसभापति बिष्टले लेखेका छन् ‘कांग्रेसभित्रकै द्रव्यपिपासुका कारण कांग्रेसलाई धोका, पाटन कांग्रेसको निष्कर्ष ।’
सोमबारदेखि चुनावी समीक्षा शुरु गरेको कांग्रेसले प्रत्येक पालिकामा कार्यक्रम गर्ने जनाएको छ । पार्टीभित्र देखिएको अवसरवादलाई परास्त गर्दै बलियो कांग्रेस बनाउनका लागि अभियान सञ्चालन गरिएको उपसभापति बिष्टले बताए । बुधबार पुर्चौंडी चुनावी समीक्षा कार्यक्रमको आयोजना गर्ने सचिव जोशीले बताए ।




