Sagun Khabar
बैतडी प्रदेश –१ मा लगातर कम्युनिष्टको जित, प्रदेश –२ मा कांग्रेसको ‘कम ब्याक’

बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नम्बर १ मा २०६४ साल यता कम्युनिष्ट पार्टीले जित हासिल गर्दै आएका छन् । २०६४ साल भन्दा अगाडि कांग्रेसको वर्चस्व रहेको यो क्षेत्रमा पछिल्लो समयमा कम्युनिष्ट पार्टीले जित हासिल गर्दै आएका हुन् । 

२०६४ सालको संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)ले जित हात पारेका थिए । त्यो बेला कांग्रेसका नरेन्द्र बम पराजित भएका थिए । २०७० सालको संविधान सभा निर्वाचनमा एमालेका दामोदर भण्डारीले यो क्षेत्रबाट जित हासिल गरेका थिए भने कांग्रेसका लोकराज अवस्थी पराजित भएका थिए । 

२०७४ सालमा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन बनेको थियो । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट (आदित्य)ले जित हासिल गरेका थिए भने कांग्रेसका हरिमोहन भण्डारी पराजित भएका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

२०७९ सालको निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका सुरेन्द्र पाल विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । नेपाली कांग्रेसबाट विद्रोह गरेर भण्डारी ‘बागी’ उम्मेदवार बनेका थिए । नेकपा माओवादी केन्द्र सहितको गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका बिरबहादुर बिष्ट तेश्रो स्थानमा पुगे । 

प्रदेश सभा क्षेत्र नं १ मा नेपाली कांग्रेसभित्रकै अन्तरघातले पटक पटक चुनाव हार्नुपरेको कांग्रेसकै नेताहरुले बताएका छन् । पार्टीभित्रकै अन्तरघातले पार्टीका उम्मेदवारले हार व्यहोर्नुपरेको कांग्रेस जिल्ला कार्यसमिति सदस्य रमेश पाण्डेयले बताए । 

यता प्रदेश सभा–२ मा भने नेपाली कांग्रेस ५ बर्षपछि कमब्याक भएको छ । २०६४ साल यता यो क्षेत्रमा कहिले कम्युनिष्ट पार्टी र कहिले नेपाली कांग्रेसले जित हासिल गर्दै आएको छ । 

२०६४ सालमा यो क्षेत्रमा नेकपा माओवादी केन्द्रकी रेणु चन्द विजयी भएकी थिइन् भने कांग्रेसका विनयध्वज चन्द पराजित भएका थिए । फेरी २०७० सालमा यो क्षेत्रमा नेपाली कांग्रेसका नरबहादुर चन्दले जित हात पारेका थिए । 

२०७४ सालको निर्वाचनमा यो क्षेत्रमा एमालेका लिलाधर भट्टले जित हात पारेका थिए भने कांग्रेसले समर्थन गरेका राप्रपाका गणेशबहादुर चन्द पराजित भएका थिए । 

२०७९ सालको निर्वाचनमा भने यो क्षेत्रमा कांग्रेसको ‘कमब्याक’भएको छ । यो चुनावमा नेपाली कांग्रेसका शिवराज भट्ट निर्वाचित भएका छन् । एमालेका लिलाधर भट्टलाई पराजित गर्दै शिवराज भट्ट विजयी भएका हुन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update