Sagun Khabar
पूर्वप्रधानमन्त्री चन्दको जिल्लामा राप्रपा कमजोर 

बैतडी –पूर्वप्रधानमन्त्री एवं राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको गृह जिल्ला बैतडीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगातार कमजोर हुँदै गएको छ । २०५१ सालमा बैतडीका दुवै निर्वाचन क्षेत्रमा जित हासिल गरेको राप्रपाले त्यसपछि सुखद नतिजा ल्याउन सकेको छैन् । त्यो बेलाको निर्वाचनमा लोकेन्द्रबहादुर चन्दले दुवै क्षेत्रमा जितेका थिए । 

देशका विभिन्न जिल्लामा राप्रपाले पुनरागमन गरिरहेका बेला बैतडीमा भने यो चुनावमा पनि राप्रपा निकै कमजोर देखिएको छ । राप्रपाका उम्मेदवारहरुले यो चुनावमा पनि खासै मत ल्याउन सकेनन् । 

बैतडीमा गएको स्थानीय तहको निर्वाचनमा एउटा वडामा मात्रै जित हासिल गरेको राप्रपाले यो चुनावमा धेरै कम पत पाएको छ । राप्रपाबाट उम्मेदवार बनेका सबैको धरौटी जफत भएको छ । उनीहरुले सदर मतको १० प्रतिशत समेत मत ल्याउन नसक्दा धरौटी जफत भएको हो । 

Atrya hospital

राप्रपाको संगठन कमजोर भएकै कारण राप्रपाले सोचे अनुसार मत नपाएको राप्रपाका जिल्ला सचिव एवं प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवबहादुर चन्दले बताए । कमजोर संगठन भएकै कारण राप्रपाले सुखद नतिजा हात पार्न नसकेको उनको भनाइ छ । उनले भने ‘संगठन विस्तार नहुँदा सोचे अनुसार मत पाइएन् । जित हुने होइन भन्ने हिसाबले मत परिवर्तन भएको हामीले महसुस गरेका छौं ।’

देशका अन्य ठाउँमा राप्रपाको पुनरागमन भइरहेकाले बैतडीमा पनि संगठन विस्तार अभियान सञ्चालन गर्ने सचिव चन्दले बताए । अब जिल्लाभरी राप्रपाले संगठन विस्तार अभियान सञ्चालन गर्ने उनले बताए । राप्रपाबाट अन्य दलमा गएकाहरुलाई पनि पार्टीमै फर्काउने अभियान शुरु हुने उनले बताए । 

बैतडी मात्रै नभएर सुदूरपश्चिम प्रदेशमा कुनै क्षेत्रमा पनि राप्रपाले प्रत्यक्ष तर्फ जित निकाल्न सकेको छैन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update