Sagun Khabar
चेतन ऐडी हत्या प्रकरण : बैतडीमा अनेरास्ववियुको विरोध प्रदर्शन 

बैतडी –विद्यार्थी नेता चेतनदीप अयडीका हत्यारालाई पक्राउ गर्नुपर्ने माग गर्दै अनेरास्ववियु बैतडीले विरोध प्रदर्शन गरेको छ । चरणबद्ध आन्दोलनमा रहेको अनेरास्ववियुले आज जिल्ला प्रशासन अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेको हो । 

नेकपा एमालेको भातृ संगठनका अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य समेत रहेका ऐडीको नेपाली कांग्रेसका कार्यकर्ताले हत्या गरेको अनेरास्ववियुले आरोप लगाएको छ । ऐडीको हत्यारा अहिले सम्म पत्ता नलागेको भन्दै अनेरास्ववियुले आन्दोलन गरिरहेको हो । यसअघि मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ५ बुँदे ज्ञापन पत्र बुझाइएको अनेरास्ववियु बैतडीका अध्यक्ष नरेन्द्र साउँदले बताए । 

चुनावका दिन बाजुरामा विवाद हुँदा ऐडीमाथि कुटपीट भएको थियो । उनको उपचारका क्रममा सोही राति मृत्यु भएको थियो । ऐडीको हत्यामा संलग्न रहेको आरोपमा बाजुरा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update