बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी २१ बर्षीया माया लुहार हत्या घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । मंगलबार घरबाट कपडा सिलाउन जान्छु भनि पञ्चेश्वर ३ कुलाउतिर हिँडेकी माया घर नफर्केपछि खोजी गर्दै जाँदा हत्या गरेको अवस्थामा बुधबार शव फेला परेको थियो । उनीसंगै गएकी १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेकी थिइन् ।
नेहाको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
मायाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । मायाको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा प्रहरीले घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धान भइरहेकाले विस्तृत विवरण दिन नमिल्ने प्रहरीले जनाएको छ ।
यता मायाको हत्यामा सशस्त्र प्रहरीका जवानको संलग्नता हुन सक्ने स्थानीयहरुले आशंका गरेका छन् । केही दिन पहिला पञ्चेश्वर घर भएका सशस्त्र प्रहरीका जवानले मायाको मोबाइल खोसेको कुरा जानकारीमा आएकाले उनी शंकाको घेरामा परेका पञ्चेश्वर गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष जनकबहादुर चन्दले बताए । शंकाको घेरामा रहेका सशस्त्र प्रहरीका जवान अहिले फरार रहेका छन् ।
माया भर्खरै सम्पन्न भएको निर्वाचनमा म्यादी प्रहरी समेत भएकी थिइन् । सशस्त्र प्रहरीका जवानसंग मायाको कुराकानी हुने गरेको पारिवारिक श्रोतले समेत बताएको वडा अध्यक्ष चन्दले दाबी गरे ।




