बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ८ को नयाँ भवन बन्ने भएको छ । वडा कार्यालयको भवन निर्माणका लागि टेण्डर आह्वान भइसकेको वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए ।
अबको डेढ बर्षभित्र भवन निर्माण भइसक्ने उनले बताए । चालु आर्थिक बर्षमै भवन निर्माणको काम शुरु हुने वडा अध्यक्ष बिष्टले बताए । वडा कार्यालयको भवन निर्माणका लागि पाटन नगरपालिकाले १ करोड ३ लाख ५७ हजार रुपैयाको टेण्डर आह्वान गरेको छ ।
यसअघि पाटन नगरपालिका वडा नं. ३, वडा नं. ४, वडा नं ९, वडा नं ७ र वडा नं १० को भवन निर्माण कार्य सम्पन्न भइसकेको छ । पाटन नगरपालिका वडा नं ५ को भवन निर्माणका लागि ठेक्का भइसकेको भएपनि निर्माण व्यवसायीले काम अघि बढाउन नसकेको पाटन नगरपालिका प्रमुख गौरीसिंह रावलले बताए ।
वडा नं १, २ र ६ ले पुरानै भवनबाटै सेवा दिइरहेका छन् । यस्तै वडा नं ८ ले स्वास्थ्यको पुरानो भवनबाट सेवा दिइरहेको वडा अध्यक्ष बिष्टले बताए ।




