Sagun Khabar
बैतडीः प्रहरीले  माया हत्यामा संलग्नको पत्ता लगायो, बेलुकासम्म पक्राउ गर्ने  

बैतडी- बैतडीमा  माया  हत्या प्रकरणका आरोपितलाई प्रहरीले  बेलुकासम्म पक्राउ गरिसक्ने बताएको छ । जिल्लाको   पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया  लुहार  हत्या प्रकरणका आरोपितलाइ बेलुकासम्म पक्राउ गरिसक्ने प्रहरीले  बताएको हो ।

प्रदेश प्रहरी प्रमुख मोहन आचार्यले  जिल्ला प्रहरी बैतडीसँगै प्रदेश प्रहरीले पनि घटनाको अनुसन्धान गरिरहेको र आरोपितलाई आज बेलुकासम्म पक्राउ गरिसक्ने बताएका हुन्। घट्नाको अनुसन्धानमा पुलिस जुटेको र आइडेन्टीफाई समेत भइसकेकाले आज बेलुकासम्म मान्छे पक्राउ परिहाल्ने उनको भनाई छ ।

हत्यामा संलग्नको पत्ता लागिसकेको बताए पनि उनी को हुन् भन्ने प्रहरीले खुलाएको छैन । मायाको हत्यामा एक जना सशस्त्र प्रहरी जवान संलग्न भएको आशंका गरिएको छ । उनी घटनापछि फरार रहेका बताइएको छ । पञ्चेश्वर गाउँपालिका–४ का वडा अध्यक्ष जनकबहादुर चन्दले केही दिन पहिला सशस्त्र प्रहरीका जवानले मायाको मोबाइल खोसेको कुरा जानकारीमा आएकाले उनीमाथि शंका रहेको बताएका थिए ।

मंगलबार कपडा सिलाउने भन्दै भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँगै कुलाउ बजार गएकी माया बुधबार शिवनाथ गाउँपालिका–६ मा घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेकी थिइन् । मायाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। सँगै गएकी नेहा पनि घाइते अवस्थामा भेटिएकी छिन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update