Sagun Khabar
माया हत्या प्रकरण : सशस्त्र प्रहरी जवान भरतको नाममा किटानी जाहेरी 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै पिडित परिवारले किटानी जाहेरी दिएका छन् । 

मृतकका आफन्तले शिवनाथ गाउँपालिका ४ सोलपला घर भएका सशस्त्र प्रहरी जवान समेत रहेका भरत राम कोलीको नाममा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

कोलीको नाममा किटानी जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक जोशीले बताए । उनी अहिले फरार रहेका छन् । 

आरोपित कोलीले केही दिन अगाडि मायाको मोबाइल खोसेको र मोबाइल लैजान बोलाएर हत्या गरेको मृतकका दाजु प्रकाशराम लुहारले बताए । उनले भने ‘भरत कोलीले नै बहिनीको हत्या गरेको हामीलाई आशंका छ ।’

पञ्चेश्वर ४ की माया लुहार मंगलबार घरबाट लुगा सिलाउन जान्छु भनि कुलाउ गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बुधबार शिवनाथ गाउँपालिका ६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो । 

उनीसंगै कुलाउ गएकी मृतककी भदै नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते अवस्थामा फेला परेकी थिइन् । उनी शिवनाथ र पञ्चेश्वर गाउँपालिकाको सिमाना लामाडाँगा भन्ने स्थानमा फेला परेकी थिइन् । उनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

मृतक मायाको शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरी निरीक्षक जोशीले बताए । 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update