बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका ४ की माया लुहार हत्यामा संलग्न रहेको आरोप लागेका भरतराम कोली अझै पक्राउ परेका छैनन् । परिवारले भरतको नाममा किटानी जाहेरी दिएका भएपनि उनी अहिले सम्म पक्राउ नपरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । आरोपित फरार रहेका उनको खोजी कार्य जारी रहेको उनले बताए ।
शिवनाथ गाउँपालिका ४ घर भएका कोली सशस्त्र प्रहरीका जवान समेत रहेका बुझिएको छ । मायासंग पहिलादेखि फोनमा कुराकानी गर्ने गरेका कोलीले नै मायाको हत्या गरेको पारिवारजनले दाबी गरेका छन् । केही दिन पहिला कोलीले मायाको फोन खोसेको र त्यसपछि बोलाएर हत्या गरेको परिवारले आरोप लगाएको छ ।
गएको मंगलबार घरबाट लुगाउन सिलाउ जान्छु भनि पञ्चेश्वर गाउँपालिका ३ कुलाउतिर आफ्नी भदै सहित हिँडेकी माया बुधबार शिवनाथ मन्दिर नजिकै मृत फेला परेकी थिइन् । उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । उनकी भदै १५ बर्षीया नेहा लुहार घाँटी रेटेर घाइते अवस्थामा फेला परेकी थिइन् । नेहाको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
घटना भएकै दिनदेखि अनुसन्धान जुटेको प्रहरीले मृतक मायाको मोबाइल भने फेला पारेको जनाएको छ । घटना भएको ठाउँभन्दा एक घण्टाको पैदल दुरी पञ्चेश्वर ४ मा मृतकको मोबाइल फेला परेको प्रहरी निरीक्षक जोशीले बताए । उनले भने ‘हामीले मृतकको मोबाइल फेला पारेका छौं । अब केही कुरा यसबाट पनि खुल्न सक्छ ।’
मृतकको मोबाइल फेला परेकाले त्यसबाट पनि अनुसन्धानमा सहज हुने प्रहरी निरीक्षक जोशीले बताए । प्रहरी प्रधान कार्यालयसंगको समन्वयमा मोबाइलमा भएका कुराको अनुसन्धान गरिने जोशीले बताए ।





