बैतडी –बैतडीमा बालविवाह न्यूनीकरणमा धामी, झाक्रीहरुले सक्रियता देखाएका छन् । बालविवाहले समग्र मानवको जीवनमा समस्या ल्याउने भएकाले आफूहरु संगठित रुपमा बालविवाह न्यूनीकरण अभियानमा लागेको प्रतिष्ठित धामी समूहका सचिव हरिप्रसाद जोशीले बताए ।
बिहीबार बैतडीको पाटनमा सञ्चारिका समूहले बालविवाह न्यूनीकरणका बिषयमा धार्मिक गुरुहरुसंग गरेको अन्तरक्रियामा उनीहरुले बालविवाह न्यूनीकरणका लागि आफूहरुले पहल गरिरहेको बताएका हुन् । बालविवाह अपराध भएकाले त्यस्तो अपराध नगर्न सबैलाई सुझाव दिने गरेको जोशीले बताए । उनले भने ‘हामीले बालविवाह न्यूनीकरणका लागि गाउँघरमा सचेतना फैलाइरहेका छौं । पहिलाको तुलनामा बालविवाह कम पनि भएको छ ।’
समाजमा रहेका विभिन्न कुप्रथाहरुका कारण बालविवाह भइरहेकाले त्यस्ता कुप्रथा हटाउनका लागि आफूहरुले पहल गरिरहेका अर्का धामी भानदेव भट्टले बताए । बालविवाहले मानिसको जीवनमा विभिन्न समस्या आइपर्ने भएकाले त्यस्ता समस्याबाट बचाउन आफूहरुले बालविवाह नगर्न सुझाव दिने गरेको उनको भनाइ छ ।
बालविवाह न्यूनीकरणमा समाजका अगुवा व्यक्तिहरुले पैरवी गर्दा बालविवाह अन्त्यमा सहयोग पुग्ने भएकाले आफूहरु यो अभियानमा लागि रहेको प्रतिष्ठित धामी समूहका सदस्य गौरीदत्त अवस्थीले बताए ।
बालविवाह न्यूनीकरणमा समाजका अगुवा व्यक्ति धामी, पण्डितहरुको महत्वपूर्ण भूमिका हुने पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए । पाटन नगरपालिकाले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष र पिसवीनको सहयोगमा बालविवाह अन्त्यका लागि रणनैतिक योजना तयार पारिसकेकाले बालविवाह अन्त्यको अभियानमा लाग्न सबैलाई आग्रह समेत गरेका छन् ।
जिल्लामा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा बालविवाह अन्त्यका लागि रुपान्तरण कार्यक्रम सञ्चालनमा रहेको छ । जिल्लाका सबैजसो स्थानीय तहमा किशोरकिशोरी, धार्मिक गुरुहरुमार्फत बालविवाह अन्त्यका लागि कार्यक्रम सञ्चालन भइरहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।




