Sagun Khabar
मायाको हत्यापछि गाउँमा त्रास 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलकी २१ बर्षीया माया लुहारको गएको बुधबार घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेपछि गाउँमा त्रास फैलिएको छ । घरबाट लुगा सिलाउन जान्छु भनेकी माया कहिले नफर्कने गरेर अस्ताएपछि अहिले गाउँमा निकै त्रास बढेको स्थानीय प्रिया चन्दले बताइन् । मायाको हत्यापछि एक गाउँबाट अर्को गाउँमा जान महिला तथा किशोरीहरुलाई निकै समस्या रहेको उनले सुनाइन् । गएको चुनावमा म्यादी प्रहरी समेत भएकी मायाको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेपछि गाउँलेहरु त्रासमा रहेका उनले बताइन् । उनले भनिन् ‘अहिले एक गाउँबाट अर्को गाउँमा जान निकै डर लाग्ने गरेको छ । गाउँकै बहिनीको विभत्स हत्या भएकाले गाउँलेहरु डराइरहेका छन् ।’

मायाको शव शिवनाथ गाउँपालिका ६ स्थित शिवनाथ मन्दिर नजिकैको जंगलमा फेला परेको थियो । यो घटनापछि गाउँमा निकै त्रासको वातावरण सिर्जना भएको स्थानीय राजेन्द्रराम सार्कीले बताए । उनले भने ‘गाउँमा यस्तो विभत्स हत्या भएपछि सबै जना त्रसित छन् । गाउँमा त्रासको वातावरण सिर्जना भएको छ ।’

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालनमा रहेका बेला मायाको हत्या भएको हो । हत्यामा सशस्त्र प्रहरीका जवान समेत रहेका शिवनाथ ४ का भरतराम कोलीको संलग्नता रहेको भन्दै परिवारजनले किटानी जाहेरी दिइसकेका छन् । प्रहरीले भरतको खोजी गरिरहेको भएपनि उनी फरार रहेका छन् । 

बहिनीको हत्यापछि घर नै शून्य भएको मृतकका दाजु प्रकाशराम लुहारले बताए । बहिनीको हत्यामा संलग्नलाई कडा कारवाही माग गरेको उनले बताए । उनले भने ‘घटनापछि गाउँमा निकै त्रास फैलिएको छ । गाउँमा यस्तो घटना होला भनेर सोचिएकै थिएन् ।’

मायाको हत्यापछि उनकी आमा विक्षप्त अवस्थामा रहेकी छिन् । छोरीको हत्यापछि उनलाई निकै सकस भएको स्थानीयहरुले बताएका छन् । 

घाँटी रेटेर हत्या जस्तो जघन्य अपराध भएपछि गाउँमा निकै त्रास फैलिएको पञ्चेश्वर गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष जनकबहादुर चन्दले बताए । अहिले गाउँ नै शोकमग्न भएको उनले बताए । उनले भने ‘गाउँमा त्रासको वातावरण सिर्जना भएको छ । जघन्य अपराध भएपछि निकै समस्या भएको छ ।’

मायाको हत्यापछि उनीसंगैका साथीसंगीहरु समेत त्रसित बनेका छन् । संगै विद्यालय जाने साथीको विभत्स हत्या भएपछि विद्यार्थीहरुमा समेत त्रास फैलिएको स्थानीय लक्ष्मी भट्टले बताइन् । टाढाबाट आउने किशोरीहरुलाई विद्यालयमै आउन समस्या भएको उनले बताइन् ।  
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update