बैतडी –धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी १५ बर्षीया नेहा लुहारको डडेल्धुरा अस्पातलमा निशुल्क उपचार भइरहेको छ ।
गएको बुधबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाको सिमानामा घाँटीमा धारिलो हतियार प्रयोग गरेर घाइते अवस्थामा फेला परेकी नेहाको डडेल्धुरामा उपचार भइरहेको हो । उनकी फुपू २१ बर्षीया माया लुहारको भने घाँटी रेटेर हत्या गरिएको थियो ।
घाँटीमा घाउ भएकी नेहा अहिले पनि राम्रोसंग बोल्न सक्ने अवस्थामा नरहेकी उनका काका प्रकाशराम लुहारले बताए । नेहाको औषधि उपचार निशुल्क रुपमा भइरहेको डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए ।
अस्पतालको फार्मेसीमा नभएका औषधिहरु समेत अस्पतालले किनेर उनको उपचार भइरहेको ओझाले बताए । नेहालाई सञ्चो भएपछि घटनाका बिषयमा थप जानकारी प्राप्त हुन सक्ने देखिएको छ । मायासंगै उनी पनि भएकाले घटनाका बिषयमा उनलाई थाहा हुन सक्ने बताइएको छ ।




