Sagun Khabar
बालविवाह र लैंगिक हिंसा गर्नेलाई पाटन नगरपालिकाले सेवा सुविधाबाट वञ्चित गर्ने 

बैतडी –बैतडीको पाटन नगरपालिकाले बालविवाह र लैंगिक हिंसा गर्ने घर परिवारलाई पालिकाबाट प्रदान गर्ने सेवाबाट वञ्चित गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको नगरकार्यपालिकाको बैठकले बालविवाह गर्ने, लैंगिक हिंसा गर्ने र लिंग पहिचान गरी भु्रण हत्या गर्ने परिवारलाई सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको उपप्रमुख कमलसिंह बोहराले बताए । 

पाटन नगरपालिकालाई बालविवाहमुक्त र लैंगिक हिंसा मुक्त पालिका बनाउने उद्देश्य सहित यो निर्णय गरिएको उनले बताए । अहिले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पनि सञ्चालनमा रहेकाले पालिकाले यो नीति लिएको हो । 

बालविवाह, लैंगिक हिंसा र लिंग पहिचान गरी भ्रुण हत्या गर्नु अपराध भएकाले त्यस्ता अपराध रोक्नका लागि नगरपालिकाले यस्तो निर्णय गरेको बताइएको छ । 

यसअघि नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना समेत पारित गरिसकेको छ । सरकारले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने लक्ष्य लिएकाले सोही लक्ष्यलाई पूर्ती गर्नका लागि पालिकाले आफ्ना कार्यक्रमहरुलाई केन्द्रित गरेको उपप्रमुख बोहराले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update