बैतडी-बैतडीको पञ्चेश्वरकी रमा लुहार छोरीको हत्या पछि अचेत अवस्थामा छिन् । छोरी माया लुहार (भुरी)को घाँटी रेटी हत्या भएपछि उनी अचेत अवस्थामा रहेकी हुन् ।
पञ्चेश्वर ४ फ्याउलेकी मायाको हत्या पछि अहिले गाउँ शोकमग्न भएको छ । छोरीको हत्याको खबर पछि आमा रमा छाति पिटेर रोइ रहेकी छिन् । उनी होस बिहोस छिन्। यो पीडाले उनको होसहवास गुमेको छ । रमा होसमा आएपछि छोरीलाइ खोज्छिन् । उनी मायाको आउने बाटो हेरेर रुन्छिन ।
छोरीलाइ डाँको लगाएर बोलाउँछिन् । माया कहिले आउँछे भनेर छोराहरुलाइ सोध्छिन । छोराहरुले माया जिउँदै छे ,आउछे आमा भनेर सम्झाउछन् बल्ल उनी शान्त हुन्छिन तर अचेत अवस्थामा भएका बेला उनले छोराले भनेको विश्वास गरेपनि फेरि हत्याको खबरले रुन्छिन र मायाको खोजि गर्छिन ।
मायाकी आमा चार दिन देखि भोकै छिन्। उमेरले ५५ वर्ष काटि सकेकी उनको यो घट्नाले शारीरिक अवस्था बिग्रिदै गएको छ । बहिनीको हत्या पछि आमाले चार दिन सम्म खान समेत नखाएर अचेत भएपछि छोराहरु चिन्तित भएका छन् । बहिनी गुमाउँदाको पीडा त छदै छ , आमाले खाना खाएकी छैनन् , यो अवस्थाले आमालाई पनि गुमाए हामी कहाँ जाने के गर्ने, छोरा टिंकु लुहार भक्कानिन्छन ।, अंनेकौ पीडा खेप्दै आएकी रमा अहिले पुत्री वियोगले झन पीडामा छिन् । एक वर्षको अवधिमा लुहार परिवारमा चार ओटा घट्ना घटेका छन् ।
श्रीमानको र जेठि छोरीको मृत्युुको पीडा सेलाउन नपाउँदै रमा लुहारको घरमा कान्छी छोरीको हत्याले रुवाबासी चलेको छ । छोरीको हत्या, मृतक माया संगै बजार गएकी नातनी नेहा लुहार गम्भीर घाइते भएर अस्पतालको श्यामा छटपटाइ रहेकी छिन् । मृतक माया दिदीका छोरा छोरीका लागि कपडा किनेर ल्याउछु भन्दै कुलाउँ बजार गएकी थिइन् ।तर उनी सोही दिनबाट कहिल्यै नफर्किने गरेर परिवारलाई छोडेर गइन् ।
माया लुहार (भुरी) को मृत्यु पछि साथी संगी , इष्टमित्र भावविह्वल भएका छन् । घर परिवार गाउँ समाज सबैकी प्यारी मायाको घाँटी रेटी निर्मम हत्यापछि अहिले सारा गाउँ रोइरहेको छ । २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै पिडित परिवारले किटानी जाहेरी पनि दिएका छन् ।
मृतकका आफन्तले शिवनाथ गाउँपालिका ४ सोलपला घर भएका सशस्त्र प्रहरी जवान समेत रहेका भरत राम कोलीको नाममा किटानी जाहेरी दिएका हुन् । आरोपित कोलीले केही दिन अगाडि मायाको मोबाइल खोसेको र मोबाइल लैजान बोलाएर हत्या गरेको मृतकका परिवार बताउँछन् । आरोपित सशस्त्र प्रहरी जवान भरत कोलीले नै बहिनीको हत्या गरेको मृतक मायाका दाइहरुको दाबी छ ।
माया लुहार मंगलबार घरबाट कुलाउ गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बुधबार शिवनाथ गाउँपालिका ६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो । उनीसंगै कुलाउ गएकी मृतककी भदै नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते अवस्थामा फेला परेकी थिइन् ।
उनी शिवनाथ र पञ्चेश्वर गाउँपालिकाको सिमाना लामाडाँगा भन्ने स्थानमा फेला परेकी थिइन् । अहिले सम्म दोषीलाइ पक्राउ गर्न नसकेको भन्दै यहाँका नागरिकहरु आक्रोसित छन् । प्रहरी प्रशासनले आरोपित पक्राउ गर्न ढिलाइ गरिरहेको भन्दै यहाँका नागरिकहरु अब सशक्त आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् ।प्रहरीले भने आरोपित कोलीको खोजि भइरहेको बताएको छ ।




