Sagun Khabar
पढेर गाउँ फर्कने सपना अधुरै, बैतडीकी चेतना कहिले नफर्कने गरी अस्ताइन् 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका ६ बांगाबगड घर भएकी १५ बर्षीया चेतना साउँद बिहीबार कहिले नफर्कने गरेर अस्ताएकी छन् । बिहीबार धनगढीमा ग्रेडरले किचेर उनको मृत्यु भएको हो । पञ्चोदय मावि धनगढीमा कक्षा ८ मा अध्ययनरत चेतनाको मृत्यु भएपछि अहिले घरपरिवार शोकमा डुबेको छ । 

पढेर ठूलो मान्छे बन्ने सपना लिएकी चेतनाको सपना ग्रेडरले किचिदिएको छ । विद्यालय जाँदै गर्दा उनलाई ग्रेडरले किचेको हो । शुरुमा घाइते भएकी चेतनालाई पछि जानाजान ग्रेडर चालकले किचेको उनका काका निराजन साउँदले बताए । उनले भने ‘जानाजान हाम्रो छोरीलाई किचेर मारिएको छ । यस्तो कार्यमा संलग्नलाई कारवाही होस भन्ने हाम्रो माग छ ।’

आफ्नी सानी आमाको घरमा बस्दै आएकी चेतना बिहीबार ग्रेडरको ठक्करबाट मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको छ । चेतनाकी आमा बिमला साउँदलाई निकै समस्या भएको मृतकका काका निराजन साउँदले बताए । उनले भने ‘हाम्रो माग दोषीलाई कारवाही होस भन्ने हो । हामीले क्षतिपूर्ती मागेका छैनौं । हाम्रो ज्यान गइसकेको छ । तर दोषीलाई कारवाही हुनुपर्ने हाम्रो माग छ ।’

चेतनाको न्यायका लागि धनगढीमा विद्यार्थीहरुले समेत प्रदर्शन गरेका थिए । चेतनाको धनगढीमै मृत्यु भएपछि अहिले उनको गाउँ शोकमा डुबेको छ । बांगाबगड गाउँमा शोकमा डुबेको स्थानीयहरुले बताएका छन् । गाउँकी किशोरीको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको स्थानीय अनिलकुमार बिष्टले बताए । उनले भने ‘पढ्नका लागि धनगढीमा रहेकी चेतनाको मृत्यु भएपछि गाउँमा निकै समस्या भएको छ । उनको घरपरिवारका सदस्यहरु विक्षिप्त भएका छन् ।’

बिहीबार धनगढी उपमहानगरपालिका–५ हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा साइकलमा यात्रा गरिरहेकी चेतनालाई कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । 

चालक बिमल कुमालमाथि सवारी ज्यान सम्बन्धि मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चेतनाका परिवारले निर्माण कम्पनी र चालकलाई ज्यान मार्ने उद्योगमा सजाय दिनुपर्ने माग गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update