Sagun Khabar
माया हत्या प्रकरण : आरोपी भरतको फोन लोकेसन खोज्दै प्रहरी 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी माया लुहार हत्याका आरोपी भरतराम कोलीको फोन लोकेसन खोज्ने कार्य भइरहेको छ । पछिल्लो समयमा सामाजिक सञ्जाल टिकटकमा भरत सक्रिय देखिएपछि उनको फोन लोकेसन खोज्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनले भने ‘हामीले अनुसन्धान गरिरहेका छौं । फोनको लोकेसन कता छ भन्ने कुरा खुलाउन मिल्दैन । प्रहरीले सक्रियताका साथ अनुसन्धान कार्यलाई अगाडि बढाएको छ ।’

भरतको नाममा किटानी जाहेरी समेत परीसकेकाले भारतसंग जोडिएका तल्लोसोराड क्षेत्रका सबै घाटहरु सिल गरिएको प्रहरी निरीक्षक जोशीले बताए । घटना भएकै दिनदेखि तल्लोसोराड क्षेत्रका सबै घाटहरुमा प्रहरी परिचालन गरिएको उनले बताए । 

गएको मंगलबार घरबाट लुगाउन सिलाउन जान्छु भनेकी मायाको शव घाँटी रेटी हत्या गरेको अवस्थामा बुधबार शिवनाथ मन्दिर नजिकै फेला परेको थियो । उनीसंगै गएकी मृतककी भदै १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएकी थिइन् । उनको डडेल्धुरामा उपचार भइरहेको छ ।

भरतरामले सामाजिक सञ्जाल मार्फत आफूले हत्या नगरेको कुरा उल्लेख गरेपछि प्रहरीले उनको मोबाइल फोनको लोकेसन पत्ता लगाइरहेको छ । तर उनले टिकटकमा आफू मायासंग प्रेममा रहेको भने उल्लेख गरेका छन् । मृतक मायाका परिवारजनले भने मायाको हत्यामै भरतरामकै संलग्नता रहेको दाबी गरेका छन् । उनी सशस्त्र प्रहरीका जवान समेत हुन् । 

घटना भएको ५ दिन हुँदा समेत दोषी पक्राउ नपरेको भन्दै परिवारजन आक्रोशित भएका छन् । यस्तो जघन्य अपराधमा संलग्नलाई पक्राउ गर्न नसक्दा निकै दुख लागेको मृतकका दाजु प्रकाशराम लुहारले बताए ।  
 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update