Sagun Khabar
मायाका दाजुको आक्रोश : दोषी पक्राउ नपरे बदला लिने चेतावनी 

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी २१ बर्षीया माया लुहारको हत्या भएको ५ दिन सम्म पनि दोषी पक्राउ नपरेको भन्दै पीडित परिवार आक्रोशित भएका छन् । मायाको हत्यामा शिवनाथ गाउँपालिका ४ सोलपलाका भरतराम कोलीको संलग्नता रहेको भन्दै किटानी जाहेरी समेत परिसकेको अवस्थामा दोषी अझै पक्राउ परेका छैनन् । 

आरोपित भरतराम सशस्त्र प्रहरीका जवान समेत हुन् । आरोपित कोलीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । तर दोषी पक्राउ गर्न ढिलो भएको भन्दै पीडित परिवारले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका छन् । 

मृतकका दाजु टंक लुहारले सामाजिक सञ्जाल फेसबुक मार्फत आक्रोश पोख्दै दोषी पक्राउ गर्न ढिलाइ भएको बताएका छन् । मायाको हत्यापछि घरमा साह्रै समस्या भएको र आफ्नी आमाको समेत स्वास्थ्य बिग्रिदै गएको उनले उल्लेख गरेका छन् । 

गएको महिनामात्रै डेंगुबाट दीदीको ज्यान गुमाएको पीडा नसेलाउँदै अर्को पीडा आइलागेको उनले उल्लेख गरेका छन् । अपराधी किटान भइसक्दा समेत पक्राउ गर्न ढिलो भए बदला लिने उनले फेसबुकमा उल्लेख गरेका छन् । उनले लेखेका छन् ‘आरोपी पक्राउ गर्न ढिला भए, सडकमा आन्दोलन गर्छौं । आरोपीको घर जलाइनेछ । बदला लिइनेछ ।’

मंगलबार घरबाट लुगा सिलाउन जान्छु भनि हिँडेकी मायाको घाँटी रेटी हत्या गरेको अवस्थामा शिवनाथ मन्दिर नजिकै शव फेला परेको थियो । उनीसंगै गएकी मृतककी भदै १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update