Sagun Khabar
माया हत्या आरोपी भरतको धम्की– ‘म बैतडीमै छु, कसैले केही गर्न सक्तैन् ’

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी माया लुहारको हत्या आरोपी भरतराम कोलीले सामाजिक सञ्जाल टिकटक मार्फत धम्की दिन थालेका छन् । प्रहरीले भरतको खोजी गरिरहेका बेला उनले आफू बैतडीमै रहेको र कसैले केही गर्न नसक्ने बताएका हुन् । 

टिकटक मार्फत उनले अझै हत्याको घटना गर्ने भन्दै खुला चुनौती समेत दिएका छन् । उनले सामाजिक सञ्जाल आफू डिएसपीको मान्छे भन्दै धम्की दिएका छन् । उनले लेखेका छन् ‘म डिएसपीको मान्छे हुँ । हत्या गरेको छु । केही दिन अण्डरग्राउण्ड त हुनै पर्यो ।’

सामाजिक सञ्जालमा उनले अरुलाई समेत बचेर बस्न धम्की दिएका छन् । सामाजिक सञ्जालमा धम्की दिँदा समेत पक्राउ गर्न ढिलाई भएको भन्दै प्रहरीको नागरिकले प्रहरीको आलोचना गरेका छन् । 

यता प्रहरीले भने भरतले सामाजिक सञ्जालमा लेखेका कुराको निगरानी गरिरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले भरतको खोजी कार्य भइरहेको बताए । उनले भने ‘हामीले उसले सामाजिक सञ्जालमा लेखेका कुराहरुको पनि निगरानी गरिरहेका छौं । प्रहरीले आफ्नो अनुसन्धान गरिरहेको छ ।’

गएको मंगलबार घरबाट लुगा सिलाउन जान्छु भनेकी माया लुहार बुधबार घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी थिइन् । उनकी भदै १५ बर्षीया नेहा घाइते अवस्थामा फेला परेकी थिइन् । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update