बैतडी –बैतडीमा अपांगमैत्री संरचना नहुँदा अपांगता भएका व्यक्तिहरुलाई सरकारी सेवा लिन सकस हुने गरेको छ । अपांगमैत्री सरकारी संरचना नहुँदा सेवा लिनका लागि गाह्रो हुने गरेको उनीहरुको गुनासो रहेको छ । सरकारी कार्यालयमा अपांगता भएका व्यक्तिहरुलाई पुग्नै समस्या भएको जिल्ला अपांग संघका उपाध्यक्ष लक्ष्मी बिष्टले बताइन् । उनले भनिन् ‘अपांगमैत्री संरचना नहुँदा अपांगता भएका व्यक्तिहरुलाई सेवा लिन निकै गाह्रो छ । उनीहरुलाई सरकारी कार्यालयमै पुग्न समस्या रहेको छ ।’
अपांगता भएका व्यक्तिहरुको अवस्थालाई ध्यानमा राखेर सरकारी संरचना निर्माण हुनुपर्ने भएपनि त्यसो हुन नसकेको अपांगता भएका नागरिकहरुको पुनस्र्थापना केन्द्रका अम्बादत्त भट्टले बताए । अपांगता भएका व्यक्तिहरुलाई सहज रुपमा सेवा दिने कुरामा राज्यका निकाय चुकेको उनले बताए । उनले भने ‘अपांगता भएका व्यक्तिहरुलाई सहज रुपमा सरकारी सेवा दिने कार्यमा राज्य नै चुकेको छ । अपांगता भएका व्यक्तिहरुका समस्या नै बुझ्न सकेको छैन् ।’
पछिल्लो समयमा जिल्लामा अपांगता भएका व्यक्तिहरुको तथ्यांक समेत स्पष्ट रुपमा नभएको जिल्ला अपांग संघकी उपाध्यक्ष बिष्टले बताइन् । अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र बनाउन समेत समस्या हुने गरेको उनले सुनाइन् । सबै स्थानीय तहमा मेडिकल अधिकृत नहुँदा अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र पाउन मुस्किल भएको उनले बताइन् ।
अपांगता भएका व्यक्तिहरुको समस्या समाधानमा राज्यका निकायहरुको ध्यान जानुपर्ने अपांगा महासंघ दशरथचन्द नगर कार्यसमिति अध्यक्ष हरिश टमाटाले बताए ।
अपांगता भएका व्यक्तिहरुको समस्या समाधानका लागि नगरपालिकाका तर्फबाट गर्न सकिने कार्य आफूहरुले गर्ने दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् ।




