बैतडी –बैतडीमा अहिले पनि खर काट्ने काम भइरहेको छ । हिउँदमा वस्तुभाउलाई खुवाउनका लागि खर काटेर थुप्रो बनाउने चलन रही आएकाले महिलाहरु खर काट्ने काममा व्यस्त रहेका हुन् । बैतडीका अधिकांश खरफागलाहरु भीरमा भएकाले खर काट्ने क्रममा महिलाहरुले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता रही आएको छ ।
बैतडीमा एक महिनाको अवधिमा खर काट्ने क्रममा भीरबाट लडेर तीन जना महिलाले ज्यान गुमाएका छन् भने एकजना गम्भीर घाइते भएका छन् । खर काट्ने क्रममै बर्षेनी महिलाहरुले ज्यान गुमाउनुपरीरहेको सिगासका स्थानीय पदम साउँदले बताए ।
खर काट्नकै लागि भीर चढ्नुपर्दा यही मंसिर १० गते भीरबाट लडेर पुर्चौडी नगरपालिका ६ की ३२ बर्षीया लीला खडायतको मृत्यु भयो । यस्तै गएको कार्तिक १९ गते खर काट्ने क्रममा सिगास गाउँपालिका ४ बरमकी गौरा बोहराको भीरबाट लडेर मृत्यु भएको थियो ।
सो घटना सेलाउन नपाउँदै सिगास गाउँपालिका ८ लुपणकी सरस्वती धामीको पनि खर काट्ने क्रममा लडेर मृत्यु भएको थियो । सिगास गाउँपालिकाको कम्प्युटर अपरेटर पदमा समेत कार्यरत धामीको जीवन खरसंगै बिलाएको छ ।
यस्तै खर काट्ने क्रममा भीरमाथिबाट खसेको ढुंगाले पञ्चेश्वर गाउँपालिका ३ द्वारीकी पदमा तिरुवा गम्भीर घाइते भएकी छन् । यही मंसिर ८ गते जलखान भन्ने स्थानमा घास काटीरहेका बेला भीरमाथिबाट खसेको ढुंगाले पदमा टाउकोमा चोट लागेको थियो । उनको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।




