Sagun Khabar
माया हत्या प्रकरण : भारत भाग्ने योजनामा  थिए कोली, दाहिने हातमा चोट 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान भरतराम कोली भारत भाग्नै लाग्दा समातिएको खुलेको छ । प्रहरीका अनुसार कोली भारततर्फ भाग्न भनेर कञ्चनपुरको महेन्द्रनगर पुगेका थिए । 

शिवनाथ गाउँपालिका–४ सोलपालाका २२ वर्षीय कोली आइतबार बिहान महेन्द्रनगरस्थित बसपार्कबाट पक्राउ परेका हुन् । कोलीलाई पक्राउ गरेर बैतडी ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनले भने ‘कोलीलाई पक्राउ गरेर बैतडी ल्याउन लागिएको छ । यता आइपुगेपछि थप सोधपुछ हुन्छ ।’

कोली सशस्त्र प्रहरीको हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत थिए । यसअघि मृतक मायाका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका थिए । 

मायाको बुधबार शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । उनकी १५ वर्षीया भदै नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर घाइते अवस्थामा भेटिएकी थिइन् । उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी थिइन् । घाइते नेहाले दिएको बयानका आधारमा आरोपी कोली पक्राउ परेका हुन् । 

माया र नेहा मंगलबार घरबाट लुगा सिलाउन भनी पञ्चेश्वर गाउँपालिका ३ कुलाउ गएका थिए । बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो। खोजतलास गर्दै जाँदा बुधबार मायाको शव तथा नेहा घाइते अवस्थामा भेटिएकी थिइन् । 

मंगलबार मायाको हत्या गरेर कोली बैतडीबाट भागेका बताइएको छ । डडेल्धुरा हुँदै उनी कञ्चनपुर पुगेका प्रहरीले जनाएको छ । महेन्द्रनगर पुगेर भारत भाग्ने सुरमा रहेका कोलीलाई बसपार्क डिउटीमा रहको प्रहरी टोलीले पक्राउ गरेको हो । उनको दायाँ हातको औंला आलो खत रहेको छ । केही दिन सामाजिक सञ्जाल टिकटकमा उनले आफ्नो हातमा चोट लागेको उल्लेख गरेका थिए । 

कोलीलाई बैतडी पुर्याएपछि अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढ्ने प्रहरी निरीक्षक जोशीले बताए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update