Sagun Khabar
माया हत्या आरोपी भरतलाई बैतडी ल्याइयो, म्याद थपेर अनुसन्धान गरिने 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी २१ बर्षीया माया लुहार हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका भरतराम कोलीलाई बैतडी ल्याइएको छ । आइतबार बिहान कञ्चनपुरको महेन्द्रनगरमा पक्राउ परेका कोलीलाई आइतबार राति बैतडी ल्याइ पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

जिल्ला अदालतबाट आज म्याद थपेर कोलीमाथि अनुसन्धान गरिने प्रहरी निरीक्षक जोशीले बताए । कोलीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ । मायाका परिवारले किटानी जाहेरी दिएकै दिन उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर खोजी कार्य शुरु गरिएको थियो ।

सशस्त्र प्रहरीकोे हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत कोलीले मायाको हत्या गरेको प्रमाण र परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले अनुसन्धान कार्यलाई अगाडि बढाउने भएको छ । 

गएको मंगलबार घरबाट लुगा सिलाउनका लागि पञ्चेश्वर गाउँपालिका ३ कुलाउ गएकी माया बुधबार सम्म पनि नफर्किदा खोजी गर्दै जाँदा शिवनाथ मन्दिर नजिक उनको शव फेला परेको थियो । उनीसंगै गएकी उनकी भदै १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएकी थिइन् । उनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । 

गएको चुनावमा म्यादी प्रहरी समेत रहेकी मायाको केही दिन पहिला भरतले फोन खोसेको र त्यसपछि बोलाएर हत्या गरेको पीडित पक्षको भनाइ छ । माया र भरतबीच विवाह गर्ने कुरा समेत भइरहेका बेला उसले किन हत्या गर्यो भन्ने बिषय भने अझै खुल्न बाँकी रहेको छ । भरतले मायालाई फोन गर्ने गरेको मृतकका दाजु प्रकाशराम लुहारले समेत पुष्टि गरे । उनले भने ‘भरतले बैनीलाई फोन गथ्र्यो । म संग पनि कुरा भएको हो । विवाह गर्छु भन्थ्यो । मैले घरमा आउनु भनेको थिए । तर बोलाएर हत्या गर्यो ।’

माया हत्याको कारण प्रहरीले अभियुक्तसंग बयान लिएपछि मात्रै थाहा हुने बताएको छ । मंगलबार मायको घाँटी रेटी हत्या गरेका भरतराम कञ्चनपुर हुँदै भारत भाग्ने योजनामा रहेका थिए । तर उनलाई आइतबार महेन्द्रनगर बसपार्कबाट पक्राउ गरिएको छ । उनको दायाँ हातमा रहेको घाउको आधारमा प्रहरीले पक्राउ गरेको हो । 

केही दिन अघि सामाजिक सञ्जाल टिकटकमा उनले आफूले मायाको हत्या नगरेको र चक्कुले आफ्नो हातमा समेत घाउ रहेको उल्लेख गरेका थिए । मायाको शव फेला परेकै दिनदेखि प्रहरीले भरतको खोजी गरिरहेको थियो । घटना भएको ५ दिनपछि उनी पक्राउ परेका हुन् । 

घटनाका बिषयमा अभियुक्त पक्राउ परिसकेकाले थप जानकारी प्राप्त हुने प्रहरी निरीक्षक जोशीले बताए । उनले भने ‘अब अभियुक्तमाथि अनुसन्धान शुरु हुन्छ । अनुसन्धानका क्रममा हत्याको कारण पनि खुल्छ । के कारणले उनले मायाको हत्या गरेका हुन् अनुसन्धाबाट खुल्दै जान्छ ।’
 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update