Sagun Khabar
काँचुली फेर्दै मेलौलीको काँडा बजार 

बैतडी- बैतडीको काँडा बजार पछिल्लो समय काँचुली फेरि रहेको छ । बदलिदो समयको विकास क्रम संगै मेलौली नगरपालिका ७ मा रहेको काँडा बजारले काँचुली फेरिरहेको हो ।

स्थानीयहरुका अनुसार अहिलेको काँडा बजार रहेको स्थानमा ५ वर्ष पहिले खेतिपाती हुन्थ्यो । तर अहिले यो ठाउँमा व्यवस्थित  भौतिक संरचना निर्माण भएका छन् । इलाका प्रहरी कार्यालय, नगरपालिकाको कार्याल, स्वास्थ्य केन्द्र र क्याम्पस समेत काँडामा खुलेका  छन् ।

स्थानीय बिरेन्द्र भट्टका अनुसार करिब ४दशक पहिले मेलौलीको काँडा भन्ने स्थानमा  मकै र गहुँ खेती गरिन्थ्यो । भाट,भट्टहरुको बसोवास रहेको यो ठाउँमा एक जना भारतीय नागरिक आए । उनले यहाँ कपडाको  पसल थापे  ।

भारतीय नागरिकले लत्ताकपडाको पसल थापेर पछि गुड, मिस्री, बिक्री गर्ने र यहाँको घिउ खरिद गरेर व्यवसाय अगाडि बढाएका बताइन्छ ।भारतीय नागरिकले पसल थापेर व्यापार जमाएपछि यहाँका नागरिकहरु पनि व्यापार व्यवसायमा आर्कशित हुँदै गए ।

त्यसपछि यहाँ  एकपछि अर्काे गर्दै पसल खुल्दै गएर अहिले निकै ठुलो बजार  बनिसकेको छ । काँडा बजार तल्लो सोराडको मुख्य व्यपारिक केन्द्रका रुपमा स्थापित भएको छ । यहाँ अहिले दैनिक उपभोग्यका सामान देखि लिएर , ग्राहकले खोजे र रोजे जस्ता सम्पूर्ण सामान पाइन्छन । साना र ठुला गरि काँडा बजारमा करिब २० ओटा होटेलनै  सञ्चालनमा आइ सकेका छन् । यी होटलहरुमा चिया, नास्ता, मिठा खानाका परिकार देखि बास बसाईका लागि पनि उचित व्यवस्था  छ । 

अटेच बाथरुम सहितका केही व्यवस्थित होटेल  पनि यो बजारमा सञ्चालनमा छन् । कच्ची सडका कारण  हिलाम्य धुलाम्य हुने काँडा बजार सम्म अहिले सडक कालोपत्रे बनेपछि सहज भएको यहाँका व्यापारी बताउँछन् । पाटन पञ्चेश्वर सडक खण्ड अन्तर्गत पर्ने यो ठाउँ व्यापारीक केन्द्रका रुपमा विकास हुँदै गएको छ ।

काँडा बजारको बजार व्यवसाय प्रर्वद्धन गर्न यहाँको पर्यटन क्षेत्रको विकास हुन आवश्यक रहेको  होटेल ह्याप्पि श्रीका सञ्चालक भट्टले बताए । प्रमुख धार्मिक स्थल मेलौली भगवती  मन्दिर रहेको यो क्षेत्रमा भ्यु टावर निर्माण, धार्मिक स्थलहरुमा जाने पदमार्ग निर्माण, लगायका कामहरु भए यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्रीने उनले बताए ।

जसका कारण यहाँको व्यापार व्यवसाय प्रर्वद्धन भएर विकास र समृद्धि हाशिल हुन सक्ने यहाँका नागरिकहरुको भनाई छ। ग्वाल्लेक केदार रहेको ठाउँमा भ्युटावर निर्माण ,ऐतिहाशिक धार्मिक महत्व बोकेका गौमुख धारा ओझा गाउँदेखि , शिव छडि मन्दिर ,छडिबाट पित्रबर्मा मन्दिर, शिवकुटी काँडा बजार , मेलौली भगवती मन्दिर, महारुद्र मन्दिर सम्म व्यवस्थित बाटो निर्माण हुन आवश्यक रहेको  व्यवसायी एवं राप्रपाका युवा नेता भट्टले बताए ।  

मेलौली उग्रतारा सडक सञ्चालन भए यहाँ पर्यटक भित्राउन सहज हुने उनले बताए । यसका लागि तिनै तहको सरकारले विशेष ध्यान दिएर सडक सञ्चालनको काम अगाडि बढाउन जरुरी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update