बैतडी- बैतडीको मेलौलीमा वडा स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष, भिएसओ र पिसविन नेपालको साझेदारीमा सञ्चालित बालविवाह न्यूनीकरणका लागि रूपान्तरण कार्यक्रम अन्तर्गत मेलौली नगरपालिका २ मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
केदारेश्वर किशोर किशोरी समूहको आयोजना र मेलौली नगरपालिका वडा नं २ को सहयोगमा सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ मंसिर ९ गते देखि २४ गते सम्म भइरहेको ३१ औं राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा केदारेश्वर मावि दुर्गास्थानको प्राङ्गणमा वक्तृत्वकला आयोजना गरिएको केदारेश्वर किशोर किशोरी समूहका सहजकर्ता प्रकाश बडूले बताए ।
वडा स्तरीय खुला वक्तृत्वकला प्रतियोगिता साथै केदारेश्वर किशोर किशोरी समूहको रुपान्तरण कक्षाको पनि अनुगमन गरेको पिसविन नेपालका रुपान्तरण कार्यक्रम फिल्ड सुपरभाइजर कृष्ण भट्टले बताए । यस्तै प्रतियोगितामा प्रथम स्थान हाशिल गर्ने दिपिन जोशी, द्वितिय ज्योती जोशी र तृतीय प्रविन जोशीलाई नगद पुरस्कार समेत प्रदान गरिएको छ । प्रतियोगितामा ११ जना किशोर किशोरीको सहभागीता रहेको थियो ।
प्रमाण–पत्र सहित प्रथमलाई १५ सय, द्वितियलाई १ हजार, तृतीयलाई ५०० पुरस्कार प्रदान गरिएको सहजकर्ता बडूले बताए । कार्यक्रममा बोल्दै मेलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्दले लैङ्गिक हिंसा भएको पाइएमा नगरपालिकामा उजुरी दिन अनुरोध गरेका छन् ।
नगरपालिका बाट हुने सहयोग गर्न नगरपालिका परिवार प्रतिबद्ध रहेको समेत उनले बताए । संयुक्त राष्ट्र संघिय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले रुपान्तरण कार्यक्रम बाट धेरै किशोर किशोरी हरु परिवर्तन भएको बताए ।
केदारेश्वर किशोर किशोरी समूहले बालबालिकाको व्यक्तित्व विकास लागि बिभिन्न कार्यक्रमका साथै सामाजिक कामहरु गर्दै आएको छ ।




