बैतडी- बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा एमबिबिएस डाक्टर आएपछि नागरिकहरुलाई सेवा लिन सहज भएको छ । एक बर्ष देखि डाक्टर विहिन बनेको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा अहिले एमबिबिएस डाक्टर आएपछि नागरिकहरुलाई उपचार सेवा लिन सहज भएको हो ।
अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर सन्जिन केसीले सेवा दिइरहेका मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले जानकारी दिए । मेडिकल अधिकृतको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा सेवा लिन धेरै समस्या भइरहेका बेला अहिले डाक्टर आएपछि सहज भएको स्थानीय बिरेन्द्र भट्टले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएसँगै रोकिएका एक्सरे, इसिजी, अल्ट्रासाउंड, लगायतका सेवाहरु सञ्चालनमा आएका स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए ।
नगरपालिकाको लामो प्रयासपछि प्राथमिक स्वास्थ्य केन्द्रले कार्तिक २७ गतेबाट डाक्टर पाएको हो । मेलौली नगरपालिका मात्रै नभइ पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका नागरिकहरुले पनि एमबिबिएस डाक्टरबाट सेवा लिन सहज भएको नगरपालिकाले जनाएको छ ।




