Sagun Khabar
‘म एक्लै नभएर स्वराडका जनतामाथि कारवाही गरिएको हो,प्रतिउत्तर दिनेनै छन्ः गोरख चन्द

बैतडी- चुनावमा अन्तरघात गरेको भन्दै पार्टीबाट निष्काशनका लागि सिफारिस गरिएका एमाले नेता एवं बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले कारवाही तल्लोसोराडका जनतामाथि भएको बताएका छन् ।

आज समाजिक सञ्जाल फेसबुकमा विचार वयक्त गर्दै उनले कारवाही म एक्लै माथि नभएर स्वराडका जनतामाथि भएको प्रतिकृया दिएका हुन्  ।  स्वराडका जनतामाथि कारवाही गरिएको भन्दै यसको  प्रतिउत्तर जनताले दिने पनि उनले बताएका छन ।

उनले फेसबुकमा लेखेका छन्, ‘जहाँ सम्म मेरो कारवाहीको विषय त्यो एक्लै म माथि भएको होइन्,स्वराडका लाखौँ लाख जनता माथिको हो, कमरेड,त्यसको प्रतिउत्तर त यहाँका जनताले दिनेनै छन् । थोरै समयको पर्खाइमा बस्नु होला ।’ लिलाधर भट्ट मेरो कारणले हारेको आरोप लगाइएको भन्दै उनले पञ्चेश्वरबाट दुवै उम्मेदवारलाई बहुमत भोट गएको निर्वाचनले प्रमाणित गरेको समेत बताएका छन् ।

स्वराडका जनतामा माथि गरिएकको अन्याय, अत्याचार, ज्याजति र विभेदका विरुद्ध चाँडै ठुलो आन्दोलन हुने पनि उनले लेखेका छन् । पार्टी  दुई  चार जनाको पेवा नभएको भन्दै उनले  हजारौँ हजार  मान्छेले  दुख कष्ट जेलनेल गरेर बनाएको स्मरण गराएका छन् । पार्टी प्रति आफ्नो उच्च सम्मान रहेको भन्दै  उनले बैतडीमा  पार्टीलाई कम्पनी  बनाएर  चलाएकाले त्यसप्रति लडाँइ जारी रहने  बताए ।

एमाले बैतडीले पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको छ । बुधबार बसेको सातौँ जिल्ला कमिटि बैठकले अध्यक्ष चन्दलाई कारवाहीका लागि प्रदेश कमिटिलाई सिफारिस गरेको हो । मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको चन्दमा माथि आरोप छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update