बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका वडा नं २ मा वडा कार्यालयको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । ४२ लाखको लागतमा वडा कार्यालयको चार कोठे भवन निर्माण कार्य सम्पन्न गरिएको पुर्चौंडी नगरपालिका वडा नं २ का वडा अध्यक्ष चक्रबहादुर बमले बताए ।
वडा कार्यालयको आफ्नो भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएकोमा अब सेवा प्रदान गर्न सहज हुने वडा अध्यक्ष बमले बताए ।
वडा कार्यालयको नवनिर्मित भवनको शुक्रबार एक कार्यक्रमकाबीच उद्दघाटन समेत गरिएको छ । नगर प्रमुख दीपकबहादुर बमले एक कार्यक्रमकाबीच नवनिर्मित वडा कार्यालय भवनको उद्दघाटन गरेका हुन् ।
पुर्चौंडी नगरपालिका वडा नं २ का वडा अध्यक्ष चक्रबहादुर बमको अध्यक्षतामा भएको वडा कार्यालय भवन उद्दघाटन कार्यक्रममा नगर प्रमुख दीपकबहादुर बम प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा पुर्चौडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालको समेत उपस्थिती रहेको थियो ।
पुर्चौंडी नगरपालिका वडा नं २ को नयाँ भवन निर्माण भएसंगै नगरपालिकाका ५ ओटा वडाले नयाँ भवन पाएका छन् । यसअघि वडा नं ३, ४,७ र ९मा नयाँ भवन निर्माण भइसकेका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए ।




