बैतडी –बैतडीमा लैंगिक हिंसा र बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ । दशरथचन्द नगर बालसञ्जालको आयोजना र दशरथचन्द नगरपालिकाको आयोजनामा गोठलापानीमा सडक नाटक प्रदर्शन गरिएको दशरथचन्द नगर बालसञ्जालका अध्यक्ष उमेश बडूले बताए ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन आज सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको हो । नाटकमा बालविवाह र लैंगिक हिंसा न्यूनीकरणका लागि सन्देश दिइएको अध्यक्ष बडूले बताए । समाजमा भइरहेको बालविवाह र लैंगिक हिंसाले कसरी समाजलाई प्रभावित गरिरहेको छ र यसलाई न्यूनीकरण गर्न के गर्नुपर्छ भन्ने सन्देश सहित सडक नाटक प्रदर्शन गरिएको बडूले बताए ।
नाटकमा कलाकार बल्देव केसी लगायतको प्रस्तुती रहेको थियो । बालविवाह गर्दा हुने असरका बारेमा नाटक मार्फत जानकारी दिइएको थियो भने महिनावारी भएको समयमा गरिने विभेदले पार्ने असरका बारेमा समेत जानकारी दिइएको थियो । सडक नाटक प्रदर्शनका क्रममा दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द लगायतको उपस्थिती रहेको थियो ।




